वीरगन्ज –पर्साको पटेर्वासुगौलीस्थित दुग्धेश्वर मन्दिर (भाटा बाबा) को दर्शनका लागि हिँडेका २ जना युवक सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् ।
मकवानपुरबाट आइतबार राति जङ्गलको बाटो हिँडेका ६ जना युवाको समूहमध्ये २ जना मन्दिर नपुग्दै सम्पर्कविहीन भएको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गतका रामभौरी भाटा सेन्टरले जानकारी दिएको छ ।
साउनको तेस्रो सोमबार लाग्ने मेला तथा मन्दिरको दर्शनका लागि मकवानपुरबाट हिजो ६ जना युवाहरूको टोली निस्केको थियो । जङ्गलको बाटो हिँडेका युवाहरूको टोलीमध्ये २ जना भने मन्दिर नपुग्दै सम्पर्कविहीन भएको बताइएको छ ।
मन्दिरको करिब ५ किलोमिटर परैको जंगलबाट ती २ जना युवाहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गतका रामभौरी भाटा सेन्टर सुमन ठाकुरले बताए ।
सेन्टरले प्रमुख सुमन ठाकुरले भने, ‘हामी कहाँ २ जना हराएको खबर आएको छ, उसकै साथीहरूले हाम्रो कार्यालयमा सम्पर्क गरेका छन् । त्यसपछि प्रहरीलाई पनि खबर भइसकेको छ । प्रहरीसँगै अब हामी पनि आफ्नो टोलीले लिएर खोजीका लागि हिँडिसकेका छौँ ।’
तर हराएका व्यक्तिहरूको पहिचान भने अझ खुल्न नसकेको उनको भनाइ छ । उनका अनुसार मोबाइलको नेटवर्कले काम नगरिरहेको हुनाले थप विवरण आउन नसकेको हो ।