भोजपुर – इर्खुवाखोलामा साउन १६ गते आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवतजावतमा समस्या भएको छ । बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाकखण्डको २० किलोमिटर सडक विभिन्न ठाउँमा बगाएको थियो । बाढीबाट पुललगायतका अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनभयो ।
वडा एकको गौडेनी पुलमा एक करोड ५० लाख, वडा तीनको इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा पाँच र छ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी वडा चारमा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा ४० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान छ । बाढीले सडक बगाउँदा मुख्यगरी खाद्यान्न ढुवानीमा समस्या भएको उहाँले बताउनुभयो गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्लामा आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो ।
गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको ठाउँमा नयाँ बनाउन नसकिने उहाँले बताउनुभयो । बाटो बनाउन १० करोड लाग्ने अनुमान गरिएको छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नुको विकल्प नभएको अध्यक्ष कुलुङले बताउनुभयो ।