Aamsanchar

बिर्तामोडमा अनुभवि दलालबाट सेयर कारोबार शुरु

Author Image
आइतवार, वैशाख १७, २०७४

बिर्तामोड।

पूर्वी नेपालका बासिन्दालाई सेयर कारोबारमा आकर्षित गर्दै सेयर खरिद–बिक्रीको सहज सेवा उपलब्ध गराउन सफल सेयर दलालको परिचय स्थापित गरेको ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले झापाको बिर्तामोडमा शाखा शाखा सञ्चालनमा ल्याएको छ ।
सुमेरुले नेपाल स्टक एक्सचेञ्जबाट अनुमति प्राप्त गरी चैत तेस्रो सातादेखि उक्त शाखाबाट शेयर किनबेच कारोबार थाले पनि कार्यालयको औपचारिक उद्घाटन भने आइतबार सम्पन्न भएको छ । कम्पनीका संस्थापक सञ्चालक प्रेमकुमार अग्रवालको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले रिवन काटेर उक्त शाखाको उद्घाटन गरे ।
डालमियाले यसक्षेत्रमा छरिएका सानो पूँजीलाई सेयरमा आकर्षित गर्न सुमेरुले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । संस्थापक सञ्चालक अग्रवालले ०६४ सालमा स्थापित आफ्नो कम्पनीले पूर्वीमा सेयर कारोबारमा धेरै नागरिक इच्छुक रहेको महशुस गरी सेवा शुरु गरेको बताए । अग्रवालले बिर्तामोड शाखाबाट डिमेट खाता खोल्दा कुनै शुल्क नलाग्ने, सेयर कारोबार सम्बन्धी सबैखाले परामर्श प्रदान गरिने हरेक शुक्रबार सेयर कारोबारबारे सरोकारवालालाई जानकारी प्रदान गरिने बताए । आफ्नो शाखाले सेयर कारोबारभन्दा अन्य कुनै पनि काममा शुल्क नलिने समेत अग्रवालले घोषणा गरे ।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय ढुण्डीराज गिरी, व्यवसायी सुरेश वंशल, नेपाल–भारत मैत्री संघ झापाका अध्यक्ष हुलासचन्द्र सरिया, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सज्जन वंशलले बिर्तामोडमा सेयर कारोबारका लागि दलालहरुले सेवा शुरु गर्नु खुसीको कुरा भएको बताए ।
त्यस्तै ग्लोबल आइएमई बैंक बिर्तामोडका शाखा प्रबन्धक पवनकुमार पौडेल, मेरो लगानीका तिलक कोइराला, सेयर लगानीकर्ता तुलसी पोखरेल, सुमन पोद्दार, पत्रकार राजेन्द्र गौतम, सुमेरी सेक्युरिटीजका जीवन श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
सुमेरुले शनिश्चरे रोडको डेनियल होटलसँगैको बाबा कम्प्लेक्स भवनमा कार्यालय खोली सेयर कारोबार शुरु गरेको शाखा प्रबन्धक रोशन पौडेलले बताए । कार्यक्रमको सञ्चालन पदमसुन्दर लामिछानेले गरेका थिए । संस्थापक सञ्चालक अग्रवालका अनुसार शाखा बिस्तारका लागि झापा जिल्ला नै रोज्नुमा घना जनसंख्या, आर्थिक आधार, राजधानीबाट टाढाको दुरी र सेयर बजारमा लगानी गर्न चाहनेहरुको पर्याप्तता नै मुख्य आधार रहेको छ ।
झापाली लगानीकर्ताहरुलाई सेयर किनबेचका साथै शेयर प्रमाणपत्र अभौतिकीकरण, हितग्राही खोल्नेलगायतका कामहरु पनि गरिने जनाइएको छ ।
नयाँ ठाउँ भएकाले शेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरुलाई सेयर बजारको अवसर र जोखिमबारे जानकारी दिएर सुरक्षित लगानीका लागि प्रोत्साहित गर्ने काम गर्न ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले प्रशिक्षण लगायतका विभिन्न कार्यक्रम अघि बढाउने बताइएको छ ।
बिर्तामोड राजधानीबाहिरको प्रमुख व्यापारिक केन्द्रहरुकै रुपमा विकसित हुँदै गरेको अवस्थामा यस क्षेत्रमा शेयर कारोबार गर्ने दलालहरु पनि आकर्षित हुन थालेका छन् । बिर्तामोडमा कार्यालय स्थापना गरेको दुई सातामै सुमेरु सेक्युरिटीजले यस क्षेत्रका व्यवसायीहरुको ध्यानाकर्षण गर्न सफल भएको छ ।
सुमेरु सेक्युरिटीजले शेयर कारोबारमा बनाएको उच्च छविका कारण नयाँ लगानीकर्ता पनि आकर्षित हुँदै गरेको बताइएको छ ।
सुमेरुले शेयरमा लगानी गर्न इच्छुकहरुलाई शेयर खरिद–बिक्री प्रक्रियाका साथै यसबाट प्राप्त हुने मुनाफा लगायतका विषयमा विषयगत प्रशिक्षणहरुको तयारी गरेको बुझिएको छ । व्यवस्थित र विश्वसनीय रुपमा सुमेरुले कारोबार गर्दै आएको बताउँदै सञ्चालक अग्रवालले भने– ‘शेयर कारोबारमा हामी यस क्षेत्रका लगानीकर्ताको मन जित्ने छौं र उहाँहरुलाई शेयर व्यवसायीको रुपमा स्थापित गर्नेछौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर