गुल्मी – गुल्मीमा अरिङगाल पोल्दा रुखबाट लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ।
आइतबार राति अरिङगाल पोल्ने क्रममा पिपलको रुखबाट लडेर घाइते भएका मुसिकोट ५ का ३१ वर्षीय रमेश लामिछानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइते लामिछानेको पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। निजको शवलाई मिसनमै पोष्टमार्टम गरिएको पोखरेलले बताए।
यसैबीच मुसा मार्ने विष सेवनबाट एक किशोरी गम्भीर बिरामी परेकी छन्।
सोमबार मुसिकोट नगरपालिकावडा नम्वर ४ की १८ वर्षीय किशोरीले मुसा मार्ने विष सेवन गर्दा गम्भीर बिरामी परेको र निजको उपचारका लागि मिसन अस्पताल पाल्पामा पठाइएको पोखरेलले बताए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।