Aamsanchar

सुनकाे भाउले बनायाे नयाँ रेकर्ड, किन महँगो हुँदैछ ?

Author Image
आइतवार, भदौ २, २०८१

काठमाडौं – लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय पुगेको छ। गत शुक्रबार प्रतितोला एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन हजारले वृद्धि भएको हो।

शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा ५० ले वृद्धि भएको हो।

 

किन महँगो हुँदै सुन ?

अन्तर्राष्ट्रिय बजारमा भन्दा नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको पाइन्छ। चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत सुन आयातमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएकाले सुनको मूल्य बढेको तर्क गर्छन्, सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्य। अमेरिकी डलरको मूल्यवृद्धि र सरकारले बढाएको करका कारण अन्तर्राष्ट्रियभन्दा नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा पाँच वर्षअघि प्रतिऔंस १ हजार २ सय ८८ डलर रहेको सुन अहिले दोब्बर हाराहारी छ।

नेपाली बजारमा भने करिब साढे २ गुणाले बढेको सरोकारवालाहरू औँल्याउँछन्।

‘नेपालमा सुन बढ्नुको कारण भन्सार दर बढी भएर हो। यसले लागत बढ्यो,’ महासंघका पूर्वअध्यक्ष शाक्य भन्छन्, ‘पहिला प्रतितोला १० हजार भन्सार तिरिरहेका व्यापारीले २-३ वर्षको अन्तरमा २८ हजारसम्म तिर्नुपर्छ। यसले पनि महँगो बनायो। यससँगै डलरसँगको विनिमय दर क्रमशः बढ्दै गएको छ। डलरको मूल्य बढ्दा सुनको मूल्य पनि बढ्छ।’ पछिल्लो प्रवृत्ति हेर्दा सुनको मूल्य झन् धेरैमाथि पुग्ने उनको अनुमान छ। अन्तर्राष्ट्रिय स्तरमा बढ्नुको कारण विभिन्न मुलुकसँग युद्धले गर्दा सुनको मूल्य बढेको हो। लामो समयदेखि, युक्रेन र रुस तथा इजरायल र प्यालेस्टाइन युद्धका कारण पनि अधिकांश मुलुकले सुनलाई सम्पत्तिका रूपमा सुरक्षित गर्दा यसको माग बढेदा मूल्य वृद्धि भएको उनले औंल्याए। शाक्यकाअनुसार संसारको वित्तीय क्षेत्रलाई मजबुत बनाउन सुनको भूमिका हुन्छ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२