भक्तपुर – भक्तपुरको कालदहमा किसानहरूले खेतमा भ्यागुतोलाई भात खुवाइरहेका छन् । किसानहरूले गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर भातमा अड्याएका छन् । यस्तै छरिता रोटीसँगै विभिन्न तरकारी, क्वाँटीलगायत खानेकुरा ठूलो पातमाथि राखिएका छन् । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर त्यसलाई किस्तीमाथि राखेर किसानहरू खेतमा पुग्ने गर्छन् ।
किसानहरू आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रूपमा डाक्छन् र भ्यागुतालाई परिकार छाडिदिन्छन् । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिदिन्छन् । साङ्केतिक रूपमा सिन्दूर पहिर्याइदिन्छन् । अनि किसानले ऐनाका रूपमा भातमा गाडिएका मूलाका चाना देखाइदिन्छन् । किसान आफू हिँडेपछि भ्यागुता आएर खाने विश्वासमा परिकारका भाग त्यहीँ छाडिदिन्छन् ।
प्रकृतिपूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको संस्कृतिकर्मी कला जोशी बताउनुहुन्छ । त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको उहाँ बताउनुहुन्छ ।
प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन भ्यागुतालाई भोज खुवाउने परम्परा छ । यसलाई स्थानीय किसान ‘ब्यां चा जानका वानेगू’ भन्छन् । नेपाल भाषामा ‘ब्या’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।