धरान – धरानमा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको राजविराजका दीपककुमार यादव, मोहम्मद सर्फराज इराकी, लालु भन्ने मोहमद रहमान, प्रवीण यादव तथा सिराहाका रितिक यादब र सुरज शाह रहेका छन्।
केही दिन अगाडि धरानका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।
धरान उप–महानगरपालिका १७ रेल्वे चोकबाट प्रदेश १–०२–०४४ प ५९४२ नम्बरको मोटरसाइकल र धरान उप–महानगरपालिका-१ पृथ्वी चोकबाट बा १४ च ८०२६ को रोयल इन्फिल्ड मोटरसाइकल चोरी गरी उनीहरू फरार भएका थिए।
फरार भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी अधिकृतको कमाण्डमा विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले बताए। उनले चोरीका मोटरसाइकलहरू बरामद गरी इलाका प्रहरी कार्यालय धरानमा राखिएको जानकारी दिए।
प्रमाणसहित पक्राउ परेका प्रतिवादीलाई चोरी भएका मोटरसाइकलसहित जिल्ला अदालत सुनसरीमा पेस गरी सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जनाए।
इप्रका धरानका प्रहरी निरीक्षक दिवस कुँवरले केही दिनदेखि धरानमा बाहिरबाट आउनेहरूले चोरी डकैती र लागू औषधको कारोबार गर्ने गरेको पाइएपछि धरानका २० वटै वडामा प्रहरी परिचालन गरी चोरी डकैतीमा संलग्नलाई पक्राउ गर्ने काम भइरहेको बताए।