Aamsanchar

सुनचाँदी व्यवसायीद्धारा आन्दोलन सशक्त बनाउने चेतावनी

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

भद्रपुर ।
सुनचाँदी व्यवसायी संघ झापाले तीन बुँदे माग सहितको ज्ञापन पत्र आज मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई बुझाएको छ ।
आफ्ना माग पूरा नभए कानूनी उपचारका साथै सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र एकता गरी देशव्यापी रुपमा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत संघले दिएको छ ।

गत वैशाख गते झिलझिलेमा १ किलो सुनसहित प्रहरीद्वारा नियन्त्रणमा लिई राजश्व अनुसन्धान विभाग इटहरीको जिम्मा लगाइएका बिर्तामोडस्थित पूर्णिमा ज्वेलर्सका सञ्चालक बैजनाथ साह, व्यवसायी कृष्ण सराफ र सवारी चालक अरुण क्षेत्रीलाई तत्काल स–सम्मान रिहाई सहितको माग संघले अघि बढाएको हो ।
कानुनी प्रक्रिया प्ररा गरेर सुन ल्याउदा पनि प्रहरीले पक्रेको भन्दै सुन व्यवसायी आक्रेसित संगै आन्दोलित भएका छन् । मंगलबार पूर्वका सबै सुन पसल घटनाको विरोधमा बन्द भएका छन् ।

संघका अध्यक्ष रुपदल (राजु)विश्वकर्मा र महासचिव उदय शाक्यद्धारा हस्ताक्षरित ज्ञापन झापाका सुन चाँदी व्यवसायी तथा व्यवसायीका नेताहरुको उपस्थितिमा प्रजिअ खत्रीलाई हस्तान्तरण गरिएको थियो ।
संघले गत बैशाख १४ गते काठमाडौंबाट कार्गो भई बुद्ध एयरमा सबै प्रक्रियामा सुरक्षा जाँच पूरा गरी बिर्तामोडस्थित नवदुर्गा ट्रेडिङ कन्सर्न शाखा कार्यालयका लागि पठाइएको १०० किलो चाँदी भद्रपुर विमानस्थलमा लिन जाँदा व्यवसायीहरु मनोज गोयल र पुण्यप्रसाद अधिकारीलाई चाँदीसहित नियन्त्रण लिई एक दिन हिरासतमा राखी ६८ लाख ९ हजार ४ सय रुपैयाँ धरौटीमा मात्र रिहा गरेको हुँदा उक्त विषयमा यथार्थ तत्काल सत्यतथ्य सार्वजनिक गरी व्यवसायीलाई न्याय दिलाउन पनि माग गरेको छ ।

त्यस्तै लामो कानूनी प्रक्रिया र चेकजाँच पूरा गरी खरिद गरिएको सुनचाँदी एउटै मुलुकभित्र हवाई र स्थल यातायातबाट ओसारपसार गर्दा पुनः सुरक्षा चेकजाँचका नाममा नियन्त्रणमा लिई राजश्वको जिम्मा लगाउने घटना अबका दिनमा नदोहो¥याउन समेत संघले प्रशासन समक्ष माग गरेको छ ।
पूर्व घोषित कार्यक्रम अनुसार ज्ञापन बुझाउने कार्यक्रममा उद्योगी व्यवसायीका नेताहरु नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, वर्तमान उपाध्यक्ष वुद्धि घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्की, पूर्व अध्यक्ष बेदप्रकाश अग्रवाल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, डिलर एसोसिएसनका अध्यक्ष डम्वर थापा लगायतले व्यवसायीलाई न्याय दिलाउन माग गरे ।

सुन र चाँदीसहित व्यवसायी पक्राउको दुवै घटनाप्रति संघले आपत्ति जनाएको छ ।
सुन खरिदको सिफारिस, बील बिजक, कुमारी बैंकले सुन झापासम्म लैजानका लागि दिएको सिफारिसको प्रमाण साथमै लिएर आउँदै गर्दा सुन र खरिदकर्ता व्यवसायीलाई नियन्त्रणमा लिनु अत्यन्त दुःखद् भएको संले जनाएको छ ।
‘प्रहरी प्रशासनले व्यवसायीलाई नियत राखेर दुःख दिएको तथा बैधानिक तवरले व्यवसाय गर्ने व्यवसायीलाई हतोत्साही बनाएको हाम्रो ठहर छ’ संघका अध्यक्ष राजुले भने–‘घटना लगत्तै हामीले प्रजिअ र एसपीलाई भेटेर मौखिक जानकारी समेत गराएको तर, उचित निर्णय नहुँदा हामी पीडामा परेका छौं । व्यवसायीमाथिचरम अन्याय भएको छ । ’
थोरै मुनाफाका लागि धेरै जोखिम मोलेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दोहोरो मारमा परेको र कानूनी प्रक्रिया पूरा गरेर सुन खरिद गर्दा यस्तै धरपकडको शिकार र खरिद नगर्दा कालोसूचीमा परे सरह कोटा कटौती गरिँदा अत्यावश्यक परेका बेला उपभोक्ताले सुन नपाउने अवस्था विद्यमान रहेको बताइएको छ ।

०६६ सालबाट राष्ट्र बैंकको अनुमतिमा बाणिज्य बैंकहरुमार्फत ‘कोटा प्रणाली’ अन्तर्गत सुनको विक्री वितरण हुँदै आएको तथा सोही बर्षदेखि एलसी खोलेर चाँदीको खरिद विक्री गर्न पाउने व्यवस्था छ ।सुनचाँदी व्यवसायी संघ झापामा (दमक बाहेक) २४८ व्यवसायी फर्म आवद्ध भई कारोबार गर्दै आएका छन् । कोटा प्रणाली अनुसार झापाका लागि मासिक आठ केजी, साताको दुई केजीका दरले संघले महासंघका केन्द्रीय समितिमा सिफारिस गरेपछि महासंघको सिफारिसमा कोटा पाएको बाणिज्य बैंकमार्फत सुन आपूर्ति हुँदै आएको छ । उक्त व्यवस्था बमोजिम काठमाडौंबाट सुन खरिद गरी जिल्लामा ल्याएर व्यवसायीले आम सेवाग्राहीलाई सेवा दिँदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर