बेलायत । बेलायतमा गोर्खा गल्फ सोसाइटीद्वारा आयोजित एकदिवसीय ‘नेप्ब्रिज गल्फ टुर्नामेन्ट २०२४’ को मुख्य उपाधि गजेन्द्र ‘ग्याज’ गुरुङले जितेका छन्। गत शनिबार क्याम्बर्लीस्थित पाइन रिज गल्फ क्लबमा सम्पन्न यस प्रतियोगितामा ग्याजले १८ होलको खेलमा ४ अन्डर पार ६८ स्कोर गर्दै उपाधि जितेका हुन्। यस खेलमा नीलकुमार थापा दोस्रो र महेन्द्र फगामी तेस्रो स्थानमा रहे।

नेटतर्फ तेज लिम्बु पहिलो, आशबहादुर गुरुङ दोस्रो, र अशोक गुरुङ तेस्रो स्थानमा आएका छन्। लिजेन्डतर्फ बालकृष्ण गुरुङ र देव घलेले क्रमशः पहिलो र दोस्रो स्थान हासिल गरे। स्टेबल फोर्डतर्फ पूर्ण गर्बुजा र जीवन फागो प्रथम र दोस्रो बने।

नोभेल्टिजतर्फ तेज लिम्बु, सरोज राई, र प्रशान्त गुरुङले ट्रफी जितेका छन्।

नेप्ब्रिज कम्पनीले प्रतियोगिताको टाइटल स्पोन्सरको भूमिका निभाएको थियो। यस कम्पनीले बेलायतमा विभिन्न व्यावसायिक तालिमहरू सञ्चालन गर्नुका साथै सेक्युरिटी, हेल्थकेयर, हस्पिटालिटी, र वेरहाउस क्षेत्रमा दक्ष जनशक्ति आपूर्ति गर्दै आएको छ। प्रतियोगितामा सयभन्दा बढी नेपाली गल्फरहरूले सहभागिता जनाएका थिए।

यो प्रतियोगिताको दोस्रो संस्करण हो, जसमा ग्याज गुरुङले लगातार दोस्रो पटक जित हात पारेका हुन्। विजेता खेलाडीहरूलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

