Aamsanchar

पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच मित्रता कायम

Author Image
आइतवार, भदौ २३, २०८१

पर्वत – कास्कीको पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता कायम भएको छ।

सोसम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले गत शुक्रबार भगिनी सम्बन्ध स्थापनामा हस्ताक्षर गरेका हुन्।

दुवै नगरहरूबीच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले बताए।

उनका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अगाडि बढाउन प्रतिबद्ध रहनेछन्।

‘पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो। त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको छ।’

नगर प्रमुख आचार्यले भने, ‘पछिल्लो पटक १५ औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ। यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्नेछ।’

अन्तर्राष्ट्रिय मैत्रीभावद्धारा प्रेरित भई दुवै सहरका नागरिकहरूबिच मैत्रीपूर्ण भावनाको विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्य सहित दुई पक्षीय सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदान प्रदानलाई महत्वका साथ अगाडी बढाउन आफूहरूका बिचमा समझदारी भएको होकुतो नगरका नगर प्रमुख उएमुराले बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर