Aamsanchar

कोशी अस्पतालमा एक कैदीको मृ*त्यु

Author Image
आइतवार, भदौ २३, २०८१

विराटनगर – विराटनगरको कोशी अस्पतालमा आइतबार १ जना कैदीको मृत्यु भएको छ। जिल्ला कारागार मोरङका कैदी ३४ वर्षीय मनीकुमार तामाङको मृत्यु भएको हो।

तामाङको घर मोरङको बेलबारी नगरपालिका–४ हो। प्रहरी अनुसन्धानबाट दर्जनौ स्थानमा भएका मोटरसाइकल चोरीमा उनको संलग्नता देखिएको थियो। कारागारका जेलर चेतनाथ बरालका अनुसार बिरामी परेपछि तामाङलाई भदौ २० गते साँझ अस्पताल लगिएको थियो।

स्वास्थ्यमा सुधार नहुँदै उपचाररत अवस्थामा उनको मृत्यु भएको बरालले बताए। उनले तामाङलाई खुट्टा सुन्निने र मुटु सम्बन्धी पुरानै समस्या रहेको जानकारी दिए। उनको उपचारका क्रममा बिहान ११:४५ बजेतिर मृत्यु भएको हो।

विराटनगरमा सम्भव नभएपछि तामाङलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको थियो। तर, काठमाडौं पठाउन नपाउँदै मृत्यु भएको जेलर बराल बताउँछन्। परिवारका सदस्य सम्पर्कमा आइसकेका कारण शव जिम्मा लगाउने तयारी भइरहेको जानकारी उनले दिए।

मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध विभिन्न ५ वटा अदालतमा चोरी मुद्दा दर्ता भएको पाइएको छ। मोरङसहित झापा, सुनसरी, इलाम र धनकुटा अदालतमा मुद्दा रहेको बरालले बताए। उनका अनुसार मोरङमा तामाङविरुद्ध चोरी कसुरमा २ वटा मुद्दा चलेका थिए। एउटा मुद्दामा मोरङ अदालतले ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अर्को मुद्दामा १ लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटीबापतको रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको बरालको भनाइ छ। उनका अनुसार तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए।

चोरी मुद्दामै उनीसँग धनकुटा अदालतबाट धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख रुपैयाँ माग भएको थियो। दुवै अदालतले मागेको धरौटी उनले तिर्न सकेनन्। धरौटी रकम जम्मा गर्न नसकेपछि पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको जेलर बरालले बताए।

उनका अनुसार तामाङविरुद्ध झापा र इलाम अदालतमा पनि चोरी मुद्दा रहेका छन्। दुवै अदालतले उपस्थित गराउन आदेश दिइसकेका थिए। उपस्थित गराउन नपाउँदै र विभिन्न अदालतमा रहेका मुद्दाको छिनोफानो नभइकन तामाङको मृत्यु भएको हो।

जिल्ला कारागार मोरङमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी राखिएका छन्। कारागारभित्र कैदीबन्दीको दैनिकी निक्कै कष्टकर बनिरहेको छ। उनीहरुलाई खाने, बस्ने र सुत्ने ठाउँको अभाव छ। जेलर बरालले कारागारमा हाल ४ नाबालक र ९७ महिलासहित १ हजार ५९ जना कैदीबन्दी रहेको बताए। क्षमताभन्दा बढी राख्नु परेका कारण कैदीबन्दीलाई समस्या भइरहेको उनी बताउँछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)