
काजकिरियामा बसेका वृद्ध बुबा र आमा

विराटनगर । माओवादी जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो । उनका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् ।

जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो । सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले जानकारी दिए ।

‘अदालतले वेपत्ता भएको मितिलाई आधार मानेर मृत्युको घोषणा गरिदियो । त्यही अनुसार हामीले काज किरिया गरेका हौं । हामीले भने गत भदौ १७ गते अन्तिम संस्कारको मिति राखेर काजकिरिया गरेका हौं,’ उनले भने ।
लक्ष्मी खतिवडा २०५८ साल मंसिरमा माओवादी जनयुद्धमा पूर्णकालिन कार्यकर्ता भएकी थिइन् । युद्धकै क्रममा उनलाई २०५९ भदौ १७ गते सुनसरी खनारको नहर पूर्वको सर्वसाधरणको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परेकी थिइन् । ‘दिदी पक्राउ परेको १५ दिनपछि हामीले खबर पायौं । त्यसपछि खोजीका लागि हामी त्यहाँ पुग्यौं । त्यहाँ पुग्दा पक्राउ परेको पुष्टि भयो । त्यसपछि इटहरी ब्यारेक गएर बुझ्यौं । कहाँ लगे भन्ने कुनै पत्ता लागेन,’ लक्ष्मीका भाई प्रेमले भने, ‘इटहरीमा रहेको सेनाको ब्यारेककै कार्यक्षेत्र भएको स्थानबाट पक्राउ परेको हो । वेपत्ता बनाएको पनि त्यहीँबाट होला ।’

दिदीको अवस्थाबारे बुझ्न जाँदा पक्राउ परेका घरका मानिसलाई पनि तत्कालिन शाही सेनाले निर्घात कुटपीट गरेको पाएको उनले बताए । काँही नपाएपछि उक्त परिवारले माओवादीलाई नै वेपत्ताको अवस्था सार्वजनिक गर्न पहल गरिदिन माग गर्दै आएका थिए । ‘सरकारमा पनि पार्टी गयो । दिदीको अवस्थाबारे पार्टीले नै खोजी गर्नुपर्छ भन्ने थियो । तर, कुनै पत्ता नलागेपछि बुबाले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिनुभएको हो । अदालतले घोषणा गरेपछि दाहसंस्कार गरिएको हो,’ प्रेमले भने ।


२०३६ साल पुस २२ गते भोजपुरको खार्तम्छास्थित सानो दिङ्लामा जन्मिएकी उनी परिवारसँगै २०४८ सालमा सुनसरीको बौकामा बसाइँसरी आएकी थिइन् । त्यहाँबाट २०५१ सालमा साविक हसन्दह गाविस १ चिलाझारमा बसोबास गरिरहेका खतिवडा २०५८ साल मंसिरमा जनयुद्धमा हिंडेकी हुन् । उनका ८३ वर्षकी वृद्ध बुबा र ७८ वर्षीय आमा रत्नकुमारीका साथै पाँच दाजुभाई र दुईजना दिदीबिहीनी रहेका छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।

