Aamsanchar

दाङकाे तुलसीपुर उपमहानगरको प्राङ्गणमा बोराका बोरा बेयरका बोत्तल, फाेहेर पनि उस्तै

Author Image
बिहिवार, भदौ २७, २०८१

दाङ – बोराका बोरा बेयरका बोत्तल । त्यसकै पछाडि ठेला, कुनामा डोको, छिट्नी । एकातिर अटो पार्किङको होडिङ बोर्ड , फलाम, ढोकाका पल्ला, भाँचिएका कुर्सी, थोत्रा काठहरू, ग्रिस र मोबिलका बाल्टी छरपष्ट छन् । ठूला मेसीनरी उपकरण, फलामका सामग्री र टुटे- फुटेका थुप्रै सामग्रीहरू अस्तव्यस्त छन् । महिनौं बितिसक्यो तर यी सामग्री व्यवस्थापन हुन सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिकाले फलाम, सिसा र टिन, कुर्सी, पानीका बोत्तल जस्ता सामग्री प्राङगणमा थुपारेको महिनौँ भयो। कार्यालय अगाडि फोहोर थुपारिंदा त्यसको दुर्गन्ध र प्रदूषणले कर्मचारीहरू पालैपालो बिरामीसमेत भए । नाला र बाटो नै बन्द गरी राखिएका सामग्री छिचोल्दै हिँड्न खोज्दा केही कर्मचारी घाइतेसमेत भए । तर भद्रगोल अवस्थामा राखिएको फोहोर अझै व्यवस्थापन हुन सकेको छैन ।

बजार व्यवस्थापन गर्ने भन्दै बजारबाट जफत गरिएका ती सामग्रीले वातावरणीय प्रदुषण मात्र गराएको छैन यसले उपमहानगरको फोहोर व्यवस्थापनमा गम्भीर लापरवाहीको संकेत गरेको छ। महिनौंदेखि फोहोर सामग्रीहरू प्राङ्गणमा छरपष्ट अवस्थामा रहँदा पनि यसबारे कसैले चासो नदिएको एक कर्मचारीले बताइन् ।

‘कयौँ पटक हामीले फोहोर उठाउन आग्रह गर्यौँ तर हाम्रो कुराको सुनुवाइ कसले गर्नेरु यी नै बाल्टीमा पानी भरिएर लामुखुट्टे लाग्ने, बोतलहरू ह्वास्सै गनाउने हुन्छ, हामी बिरामी पनि भयौं, डेंगुले पालैपालो सबैलाई छोयो तर पनि कसैले यसको व्यवस्थापनमा चासो दिएनन् ।´, उनले भनिन्, ´फोहोर व्यवस्थापन गर्न नसक्ने भए किन उठाएर ल्याउनु?’

पटक पटक फोहोरको व्यवस्थापन गर्नुपर्यो भनेर कुरा उठाए पनि पालिकाले त्यसबारे चासो नदेखाएको कर्मचारीहरू बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले फोहोर व्यवस्थापनमा सबैले चासो दिनुपर्ने बताइन् । कुनै एकको प्रयासले मात्र नहुने भन्दै यसमा सबै जिम्मेवार रहेको उनको भनाइ छ । ´उपमेयर, मेयरले मात्रै सबै गर्नुपर्छ भन्ने छैनु, उनले भनिन्, ´एउटाको मुख ताकेर बस्न त भएन नि सबैले आ–आफ्नो ठाउँबाट यसको व्यवस्थापनमा जुट्नु पर्छ । एउटाको मुख ताकेर बस्ने हो भने अँझ अरू फोहोर थुप्रदै जान्छ ।’

सरसफाई व्यवस्थापन महाशाखाबाट व्यवस्थापनको प्रयास भइरहेको बताइन् । नियन्त्रण गरेको सामग्री भएको हुँदा अब व्यवस्थापनको प्रयास भइरहेको उपभोक्ता हित व्यवस्थापन शाखाका खेमकान्त पाण्डेले उल्लेख गरे।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर