Aamsanchar

मणिपुरमा जातीय हिंसा : भारतीय प्रहरीद्वारा ३३ जना पक्राउ

Author Image
बिहिवार, भदौ २७, २०८१

जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यू र इन्टरनेट सुविधासमेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन्।

मणिपुरमा मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच सन् २०२३ को मे महिनामा सुरु भएको जातीय द्वन्द्वले कम्तीमा २०० जनाको ज्यान लिएको छ।

महिनौँको सापेक्षिक शान्तिपछि यस महिना द्वन्द्वको नयाँ लहर सुरु भएको हो। विद्रोहीहरूले रकेट र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको प्रहरीले बताएको छ।

“पछिल्ला केही दिनमा भएको हिंसात्मक विरोध प्रदर्शनपछि मणिपुर प्रहरीले सात किशोर र अन्य ३३ जनालाई पक्राउ गरेको छ”, प्रहरीको एक विज्ञप्तिमा भनिएको छ।

प्रहरीले मानिसहरूलाई हिंसाग्रस्त क्षेत्रमा शान्ति कायम गर्न कानुन प्रवर्तन विभागसँग सहकार्य गर्न आग्रह गरेको छ।

गत वर्ष महिनौँसम्म चलेको ‘ब्ल्याकआउट’लाई दोहोर्याउँदै अधिकारीहरूले विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेका छन्। प्रहरीले कर्फ्यूको आदेश पनि जारी गरेको थियो तर राज्यको राजधानी इम्फालमा सयौँले आदेशको अवहेलना गर्दै प्रदर्शन गरेका थिए।

मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोष लगाउँदै उनीहरूविरुद्ध कारबाहीको माग गर्दै मङ्गलबार विरोध प्रदर्शन गरेका थिए।

मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ। अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन्।

सरकारी तथ्याङ्कअनुसार गत वर्ष दुई समुदायबीचको लडाइँले लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर