Aamsanchar

उपत्यकाभित्रका सडक भासिने, ठूलो भ्वाङ पर्ने घटना बढ्दै, यस्ताे छ कारण

Author Image
आइतवार, भदौ ३०, २०८१

फायल फाेटाे

काठमाण्डौ – काठमाण्डौ उपत्यकाभित्रका सडक भासिने, ठूलो भ्वाङ पर्ने घटना बढ्दै गएका छन् ।

हिजो दिउँसो ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । यसअघि साउन ३० गते ललितपुरकै महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलमा पनि सडक भासिएको थियो । यस्तै गएको साउन २४ गते काठमाण्डौको दरबारमार्गको महेन्द्र सालिकबाट काठमाण्डौ प्लाजा निस्कने बीचबाटोमै सडक भासिएर भ्वाङ परेको थियो ।

यस्ता घटनाले सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको माटोको तह कमजोर रहेको, लगातारको झरीले माटो खुकुलो बनाई बगाएर लैजाने र जमिन भासिने समस्या देखापर्ने गरेको भूगर्भविद् सुबोध ढकाल बताउनुहुन्छ । यस्तै सडक लगायतका संरचना बनाउँदा ख्याल नगर्नाले पनि भासिने समस्या रहेको उहाँ बताउनुहुन्छ ।

भूगर्भविद् ढकालका अनुसार भासिएको सडक मात्र नभई त्यसको आसपासको क्षेत्र पनि जोखिमयुक्त हुन्छ । काठमाण्डौ प्लाजा नजिकको सडकमुनि टुकुचा खोला रहेको छ ।

यस्तै हिजो भासिएको ललितपुरको सडकमा पनि खोल्सा र इनार पुरिएको स्थानीय बासिन्दा बताउँछन् । यस्तै पानी भूमिगत हुने ठाउँ नहुनुले पनि जमिन भासिने समस्या बढ्ने विपद् विज्ञ केशव मलासी बताउनुहुन्छ ।

काठमाण्डौ उपत्यकामा सडकमुनि खानेपानीको पाइप बिछ्याएकोले कतिपय बेला पाइप फुटेर पनि सडक भासिने समस्या देखिएको पाइन्छ । व्यस्त रहने सडक सामान्य भासिँदा पनि ठूलो दुर्घटना हुने जोखिम रहेकोले सडक बनाउँदा सावधानी अपनाउनुपर्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर