Aamsanchar

सडक बनाउन माग गर्दै विद्यार्थीद्वारा चक्काजाम

Author Image
आइतवार, भदौ ३०, २०८१

सुर्खेत-प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको गणेशचोकदेखि भैरवस्थान हुँदै ढोडेखाली जोड्ने सडकमा दुई वर्षदेखि खाल्डाखुल्डी भएको र त्यसले दुर्घटना निम्त्याएको भन्दै विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन् ।

जन नमूना माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरुले सडकमा खाल्डाखुल्डी भएको र हिँडेर विद्यालय आँउदा सवारी साधनले आफ्नो ड्रेसमा हिलो छ्याप्नुका साथै बारम्बार दुर्घटना घटाएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।

भैरव माध्यमिक विद्यालय अगाडी नै दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दुईतर्फी सडक अवरुद्ध गरेका छन् । ´हामीले बारम्बार नगरप्रमुखलाई यो बाटो सुधार गरिदिन अनुरोध गरेका थियौं । यो बाटोमा हामी दैनिक रुपमा आवतजावत गरिरहन्छौं । प्रदेश अस्पताल जाने बाटो पनि यही भएका कारण सवारी साधनको चाप यहाँ बढी छ,` जन नमुना माविका विद्यार्थीले नारायण नेपालले भन्नुभयो, ´विद्यालयमा ड्रेस लगाएर जानुपर्ने तर बाटोमा कहिले हिलोमा छ्यापिएर जानुपर्ने, कहिले दुर्घटनामा पर्नुपर्ने अवस्था आएको दुई वर्ष भइसकेको छ । सरकारले केही गर्ला भनेर आश गरे पनि हालसम्म कुनै प्रगति भएन । त्यसैले हामी यो आन्दोलन गर्न बाध्य भएका हौं ।`

अर्का विद्यार्थी विपना खनालले पनि मुख्यमन्त्री यामलाल कँडेल वा नगरप्रमुख मोहनमाया ढकाल आएर बाटो निर्माणबारे लिखित सहमति गरे मात्रै आफूहरु आन्दोलनबाट पछि हट्ने जनाउनुभयो । नगरप्रमुख वा मुख्यमन्त्री एक जना आएर हामीसँग एक साता होस् या दुई साता होस्, लिखित सहमति गरेर बाटो बनाउने प्रतिबद्धता जनाउनुपर्‍यो । खनालले भन्नुभयो, ´त्यो नभएसम्म यो आन्दोलन जारी रहन्छ ।`

यो सडक मुख्यमन्त्री यामलाल कँडेलकै वडामा पर्छ भने नगर उपप्रमुख नीलकण्ठ खनाल यही वडाबाट प्रतिनिधित्व गर्नुहुन्छ । यता नगरप्रमुख मोहनमाया ढकालले भने बर्खायाममा पानी परिरहेको हुनाले सडक मर्मत गर्न ढिला भएको बताउनुभयो । उहाँले अब तत्काल सडक मर्मत गर्ने योजना रहेको जानकारी दिनुभयो । प्रमुख ढकाललाई विद्यार्थीहरुले लिखित सहमति गर्न फोन गरेर बोलाएका थिए । तर ढकाल काम विशेषले काठमाडौं गएको हुनाले उपस्थित हुन नसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर