Aamsanchar

आज इन्द्रजात्रा (उपत्यका बिदा) जात्राको पौराणिक कथन

Author Image
मङ्गलवार, असोज १, २०८१

इन्द्रजात्रा (उपत्यका बिदा)
काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै एउटा अनमोल प्राचीन सम्पत्ति भएको छ ।

’येँया पुन्हि’
काठमाडौँको माटो र आव हवामा सभ्यता र शान्तिको एउटा स्वाद छ अनि काठमाडौँ देवता र मन्दिरको मात्र सहर नभई विविधता सहितका अनेक चाडबाड र प्राचीन सभ्यताको सहर पनि हो । इन्द्रजात्रा अर्थात् नेपाल भाषामा ’येँया पुन्हि’, काठमाडौँ सहरको प्राचीन बस्ती वसन्तपुरमा मनाइने सबैभन्दा ठुलो चाडहरुमध्य एक हो ।

किम्बदन्ती
सुरु गरौँ किम्बदन्ती बाट जसका अनुसार स्वर्ग लोकका भगवान् इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौँ सहरमा आएर बगैँचाको माली लाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्र शक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढाले पछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोक कथन छ।काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।

बन्धनमा पारेका छोरा इन्द्र
यसरी आफ्नो खातिर काठमाडौंवासी ले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धान बाली समयमै हुर्किएर पाक्छ भन्ने किम्बदन्ती अझै पनि जनजिब्रोमा जीवितै छ। इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।

नेवाः
परम्परा अनुसार भाद्र शुक्ल पक्ष ’यँलाथ्व द्वादशी’को दिन मनाइने इन्द्र ध्वजोत्थानबाट प्रारम्भ भएर ’यँलागाः चौथी’ अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासङ सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रही आएको छ । अनुहारमा विभिन्न देवी देउताका ’ख्वापाः’ (अर्थात् मुखौटा) लगाएर नेवाः समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ ।

तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाको लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्र चण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा ’योंसी’ समेत भनिन्छ । उक्त लिङ्गोलाई वसन्तपुर दरबार स्क्वायरस्थित हनुमान ढोकामा अवस्थित विशाल काल भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रिया पश्चात् लिङ्गो ठड्याइएपछि ’इन्द्र ध्वजोत्थान’ सम्पन्न हुन्छ र प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल ।

यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ ।

लिङ्गो ठड्याउने परम्परा पनि एकदमै विशेष सांस्कृतिक प्रक्रिया अनुसार सम्पन्न गर्ने गरिन्छ । यस क्रममा नेपाली सेनाको ब्यान्डको टुकडी, गुर्जुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाएर यस महत्त्वपूर्ण प्रक्रियामा संलग्न हुन्छन्। इन्द्रजात्रामा इन्द्र ध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा वर्षमा एक पटक हनुमान ढोका दरबार क्षेत्रस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारण कालागि दर्शन, पूजाहेतू खुला गर्ने गरिएको छ ।

सहकालका देवता इन्द्र
काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने गरिएको छ । काठमाडौँमा दसौँ शताब्दीका लिच्छविकालिन् राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौँ शताब्दीको मध्यमा सुरुवात भएको मान्यता रहिआएको छ । यस दिन काठमाडौँका बुद्ध मार्गी नेवार समुदाय र हिन्दु मान्यताका नेवार समुदायहरूको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा देख्न सकिन्छ ।

सनातन र पुरातात्त्विक महत्त्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत् संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ ।

इन्द्रजात्राको पौराणिक कथन
पुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा देवता र असुरहरू ठुलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई ’इन्द्र ध्वजा’ भनियो । देवासुर सङ्ग्राममा देवताहरूको विजय भएपछि इन्द्र ध्वज पूजा र समारोहले निरन्तरता पायो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर