Aamsanchar

मौरीघारमा भालुले क्षति पुर्याउँदा किसान चिन्तित

Author Image
शनिवार, असोज ५, २०८१

जुम्ला – जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पुर्याउँदा यहाँका किसान चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताए ।

“दुई वर्षका अन्तरमा १३ मौरीका घार भालुले खाइदियो । अहिले एक मात्र घार रहेको छ । घार भालुबाट जोगाउन समस्या भयो । भालु धपाउन अनेकन उपायहरु गरे पनि सकिएको छैन,” उनले भने, “रातभर मान्छेहरू जाग्राम बस्ने, थाले केही गरेर भालुदेखि घार बचाउन सकिएन । न भालु धपाउन सकियो नत घारको सुरक्षा दिन सकिएको छ । ”जंगलको छेउमा मौरीपालन भएकाले चरन क्षेत्रको अभाव थिएन । गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्ने गरेको मौरीपालक किसान बुढ्थापाले बताए ।

भदौ, असोज र कात्तिकमा मौरीपालनमा भालु आतंक नै हुने गरेको मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाईंले जानकारी दिए ।

भालुले मौरीको लार्भा र मह खाने गरेका छ । दुधिलो र मीठो हुने भएकाले मौरी घार खोजीखोजी खाने गरेको यहाँका किसान बताउँछन् ।

भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरीघार सखाप पारिरहेको छ । कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरीघारमा भालुले धैरै क्षति गरेको मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले बताए ।

“भालु र रोगले मौरी मासिन थालेपछि किसानले मौरीको दररेट तोक्न दिन माग गर्दै कृषि विकास कार्यालयमा निवेदन दिएका छौँ,” उनले भने, “कार्यालयबाट सुनुवाइ भएको छैन । सरकारले ७५ प्रतिशत अनुदानमा मौरीको बीमा गर्ने व्यवस्था गरेको छ । अन्य जिल्लामा मौरी बीमाको सेवा किसानहरूले लिइरहेका छन् ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर