Aamsanchar

मध्य भोटेकोसी आयोजना विद्युत् उत्पादनको तयारीमा

Author Image
आइतवार, असोज ६, २०८१

काठमाडौं – मध्य भोटेकोसी आयोजनाको तार तान्ने काम अन्तिम चरणमा पुगेको छ । निरन्तरको अवरोधपछि गत महिना ११ करोड दिने सहमति भएपछि गति लिएको आयोजनाको तार तान्ने काम अन्तिम चरणमा पुगेको हो । प्रसारण लाइनको अब करिब ७०० मिटर तार तान्न बाँकी रहेको मध्यभोटेकोसी जलविद्युत् कम्पनीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोसीको बिजुली यसै प्रसारण लाइनमार्फत प्रवाह हुनेछ । प्रसारण लाइनमा १४ महिनासम्म अवरोधको मारमा परेको थियो ।

हालै सहमति जुटेपछि काम तीव्र गतिमा भएको र अबको १५ दिनमा सकिने आयोजना प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिए । “सहमति भएपछि हामीले कामलाई तीव्रता दिएका छौं । दसैंअघि प्रसारण लाइनको काम सकिन्छ । अनि परीक्षणमा जान्छौं,” उनले भने ।

मध्य भोटेकोसी आयोजनासँग अस्पताल बनाउन १० करोड रुपैयाँ माग गरी उक्त क्षेत्रमा अवरोध भएपछि प्रसारण लाइन निर्माणमा १४ महिना अवरोध भएको थियो । गत महिना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेतको उपस्थितिमा अस्पतालका लागि अस्पताल र जग्गाका लागि गरी ११ करोड दिने सहमति भएको थियो ।

आयोजना निर्माणमै १३ वर्षभन्दा बढी लागेको मध्यभोटेकोसी जलविद्युतको प्रसारण लाइन अवरोध भएपछि निजी क्षेत्रको प्रसारण लाइनलाई डबल सर्किट बनाएर अस्थाई समाधान समेत निकालेको थियो ।

प्रसारण लाइनसँगै आयोजनातर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । गत पुुसमा ‘वेट टेष्ट’ गर्दा सुरुङ चुहिएपछि आयोजना पुर्ननिर्माण गरेको छ । आयोजनामा असोज १५ भित्र ‘वेट–टेष्ट’ सुरु गर्ने तयारीमा रहेको शिवाकोटी बताउँछन् ।

कात्तिकबाट उत्पादनको तयारी

यसअघि पनि पटक–पटक व्यावसायिक उत्पादन मिति सार्दै आएको आयोजनाले पछिल्लो पटक २०८१ को कात्तिक अन्तिममा पुर्‍याएको छ । कम्पनीका अनुसार, सुरुङको निर्माण भदौको दोस्रो साताभित्र सक्ने र अन्य परीक्षण गरी कात्तिकमा उत्पादन थाल्ने तयारी छ ।

चार वर्षमा सक्ने गरी २०७० मा निर्माण सुरु गरेको आयोजनाले २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता ९पीपीए० गरेको थियो । आयोजना निर्माण सुरु गर्दा २०७४ मै विद्युत् उत्पादन गर्ने आयोजना निर्माण सुरु भएको थियो । तर, भुकम्प र नाकाबन्दीको कारण देखाएर विद्युत् उत्पादन मिति २०७६ पुर्‍यायो ।

२०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै २०७८ पुर्‍याएको थियो । सो पछि २०७९ पुसमा पुर्‍याएको आयोजनाले गत वर्षको पुसमा ‘वेट टेष्ट’ गर्दा पानी चुहिएको थियो । पछिल्लोपटक अन्तिम परीक्षणमा समस्या भएपछि कम्पनीले हाल समाधान गरिरहेको छ ।

आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि उच्च वृद्धि भएको छ । सुरुमा १२ अर्ब २८ करोड रहेको लागत आयोजनामा भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ । पीपीए भएको १३ वर्ष र आयोजना निर्माण सुरु भएको ११ वर्षसम्म पनि आयोजना सम्पन्न हुन नसक्नुमा आयोजनाले ठेकेदारको गल्ती देखाउने गरेको छ ।

वेट टेस्टिङ र परीक्षण उत्पादन गरी गत वर्षको चैतबाटै व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी थियो । तर, आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको थियो ।

सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गर्न नै झण्डै ३ महिना लगाएको थियो ।

यसअघि गत पुसमा ‘वेट टेस्टिङ’का क्रममा बाँधको संरचना सकेर सुरुङमा माघको तेस्रो साता पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिएको थियो । “पानी चुहिएका ठाउँमा रेट्रफिटिङका करिब सकिएको छ । अब पुनः वाटर टेस्टिङ गर्छौं,” उनले भने ।

प्रसारण लाइन निर्माणमा समस्या हुँदा पनि यसले आयोजना निर्माणमा पनि ढिलाई भएको कम्पनीको भनाइ छ । आयोजनाबाट विद्युत् उत्पादन भएपनि प्रसारण लाइनमा नबन्दा खेर जाने भएपछि काममा केही सुस्तता आएको कम्पनीको भनाइ छ ।

मध्य भोटेकोसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत गरी ५१ प्रतिशत संस्थापक सेयरधनी रहेका छन् ।

त्यस्तै ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९।५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३।५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ ।

कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् ।

आयोजनाले वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८।४० र ४।८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

प्रसारण लाइनतर्फ समस्या भएपनि २२०र१३२ केभी सबस्टेसन निर्माण भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाह्रबिसे सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीए र १३२र११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरसहित सबस्टेसन तयार रहेको प्राधिकरणले जनाएको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको सबस्टेसनमा मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ ।

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने प्राधिकरणले जनाएको छ ।

निर्माण सकिएपछ मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ

मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार दुई सय केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर प्रवाह गरिनेछ ।

यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले गरिरहेको छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार, सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहनेछ । उक्त लाइन सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ । मन्त्रीसहितको टोलीले बाह्रबिसे सबस्टेसन र मध्यभोटेकोसी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर