Aamsanchar

मञ्जुरीबिना विवाह गरेका बालबालिकालाई बहुमुद्दा नचलाइने

Author Image
बुधवार, असोज ९, २०८१

काठमाण्डौ – महिला र पुरुष दुवै जना बालबालिका भएको र बाबुआमाको मञ्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहतका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ । महान्यायाधिवक्ता रमेश बडालले मातहतका सरकारी वकिल कार्यालयलाई त्यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले अभिभावकको मञ्जुरी नलिइ भागेर विवाह गरेका बालबालिकाको हकमा बालकलाई शरीर बन्धक तथा अपहरण, जवरजस्ती करणी र एकीकृत कसूरजस्ता विषयमा जाहेरीपर्ने र अभियोजन गर्नेगरेको अभ्यास देखिएकाले त्यस्तो नगरी जुन विषयमा अपराध गरेको हो त्यो विषयमा मात्र सजाय गर्ने निर्णय गरी निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रेममा परेर भागेर विवाह गरेको अवस्थामा बालकलाई शरीर बन्धक, जवरजस्ती करणी, अपहरणजस्ता धेरै विषयमा मुद्दा लाग्ने गरेको अवस्था छ ।

यस्तै अनुसन्धानको क्रममा कुनै आशङ्कित व्यक्ति उपर पक्राउ पूर्जी जारी नभएको वा अनुसन्धानको क्रममा हिराशतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा त्यस्ता व्यक्तिलाई फरार प्रतिवादी भन्ने वाक्यांशको सट्टामा ‘अनुपस्थित प्रतिवादी’ भनी उल्लेख गर्ने निर्देशन भएको छ ।

महान्यायाविक्ताले कुनै अभियोग लागेका मानिसको बैंक खाता पूरै रोक्का हुने गरेकोमा जति मागदावी हो त्यति मात्र रोक्का गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

‘कुनै अभियोग लाग्ने बित्तिकै पूरै बैंक खाता रोक्का गर्ने गरेको देखियो,’ महान्यायाधिवक्ता बडालले भन्नुभयो, ‘त्यो गर्दा अन्याय हुने भएकाले जति मागदावी हो, त्यति मात्रै रोक्का गर्न सकिन्छ, बार र सरोकारवालासँग छलफल गरेर यो निर्णय लिएको हो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर