Aamsanchar

सोलुखुम्बुमा दुई वटा घर पहिरोले बगाउँदा पाँच जनाको मृ*त्यु

Author Image
आइतवार, असोज १३, २०८१

सोलुखुम्बु – सोलुखुम्बुमा शनिवार दुई वटा घर पहिरोले बगाउँदा पाँच जनाको मृत्यु भएको छ। जिल्लाको सोलुदुधकु्ण्ड नगरपालिका वडा नम्बर ९ र १० मा गएको पहिरोमा परेर पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मृत्यु हुनेमा वडा नम्बर ९ स्थित माइती घर आएकी सोलुदुधकुण्ड नगरपालिका २ का छिरिङ शेर्पाको श्रीमती अन्दाजी वर्ष २३ की ल्हामु शेर्पा, उनकी सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका वडा नम्बर ९ की वर्ष २९ की रिना तामाङ रहेका छन्।

यस्तै सोलुदुकुण्ड नगरपालिका–१० चैलुङकी अन्दाजी वर्ष ३३ की कविता मगर र सोही ठेगानाका वर्ष–२४ की रुपु मगरको पहिरोमा ज्यान गएको प्रनाउ घिमिरेले जानकारी दिए। शनिवार दिउँसो करिब १२स्२० बजेको समयमा लगातार परेको अबिरल वर्षाको कारण चैलुङका टेक बहादुर मगरको ढुङ्गामाटोले बनेको काठको छानो भएको १ तले घरको माथिबाट गएको पहिरोले घर बगाउँदा कविता र रुपुको मृत्यु भएको थियो।

साथै सोही नगरपालिका–९ छेवर बस्ने डिमा दावा शेर्पाको ढुङगा माटोले बनेको घर पहिरोले बगाउँदा घर भित्र बसेका छिरिङ फुर्वा र रिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा अन्दाजी ६२ वर्षीया याङजी शेर्पाको टाउमा गम्भीर चोट लागि घाइते भएको प्रनाउ घिमिरेले बताए। उनले भने,´बृद्धा महिलाको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारमा लगिएको छ, तर उहाँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ, अवस्था गम्भीर रहेको छ।`

घाइते शेर्पाको वाङछु मेमोरियल अस्पताल सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङमा उपचार भइरहेको छ। मृतकहरुको शव सोही अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर