Aamsanchar

नेपाली र अमेरिकी नागरिकबीच ‘इन्द्रेणी विवाह’ दर्ता

Author Image
सोमवार, असोज १४, २०८१

काठमाडौं – नवलपुरको देवचुली नगरपालिका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले विदेशी नागरिकसँग गरेको विवाह स्थानीय तहमा दर्ता भएको छ। नवलपुरको देवचुली नगरपालिका वडा नं.३ केउरेनीले ​स्थानीय र अमेरिकी नागरिकबीचको ‘इन्द्रेणी विवाह’ दर्ता गरेर प्रमाणपत्र दिएको छ।

केउरेनीका सम्पूर्ण अधिकारी (परिवर्तित नाम) आइतबार अमेरिकन नागरिकसँग विवाह दर्ता गरेका हुन्। सम्पूर्णले मोरङको शनिश्चरेबाट अमेरिका पुगेकी हिमा गुरुङसँग दुई वर्षअघि गरेको विवाहले कानूनी मान्यता पाएको हो।

हिमा अमेरिकी नागरिक हुन्। नेपालस्थित अमेरिकी दूतावासबाट अविवाहित भएको पत्र, अमेरिकाको एटलान्टा जर्जियाको विवाहसम्बन्धी कानूनको प्रमाणित प्रतिलिपिसहित हिमासँगको विवाह दर्ता गर्न सम्पूर्णले वडा कार्यालयमा निवेदन दिएका थिए।

गत बिहीबार वडा कार्यालयमा निवेदन दिएका सम्पूर्ण र हिमालाई स्थानीय पञ्जीकाधिकारी रवीन्द्र पौडेलले अध्ययन गरेर आइतबार मात्र विवाह दर्ताको प्रमाणपत्र दिए। वडाध्यक्ष होमनाथ पौडेलले सर्वोच्च अदालतको आदेश र गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र दिएको बताए।

सम्पूर्णको हिमासँग दुई वर्ष अघि मात्रै चिनजान भएको थियो। ‘टिकटक मार्फत हाम्रो चिनजान भयो।प्यारालाई मैले नै प्रस्ताव गरेकी हुँ’, नेपालीभाषीअमेरिकी नागरिक हिमाले भनिन्,’प्यारासँगको विवाहले नेपालमा कानूनी मान्यता पाउँदा खुशी लागेको छ।’

२०८० असार १२ मा सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार १२ वैशाख २०८१ मा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न छुट्टै फारम ‘डेभलप’ गरेर परिपत्र जारी गरेको छ। विभागको परिपत्रपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता सहज रूपमा स्थानीय तहमै हुन थालेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)