रामेछाप- तामाकोशीले कटान गरेको मन्थली नगरपालिका –८ चिसापानीस्थित करमबोट पारिको सडक मर्मत गरिएको छ । मन्थली नगरपालिका –८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माण गरी तत्कालका लागि सडक खुलाइएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी तामाकोशीले कटान गरेको सडक तत्कालका लागि साना ठुला सवारी सञ्चालन हुने बनाइएको र अब ठाउँ ठाउँमा पहिरो खसेका तथा भत्किएका सडकलाई पनि सफा गर्ने र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । यो सडक खुलेसँगै मन्थली नगरपालिका –१०, ११, १२, १३ र १४ जाने सडक मर्मतको काम पनि हुने भएको छ । स्थानीय बफर खोलामा आएको बाढीले गरेको सडक क्षतिलाई मर्मत गरी यी वडाहरुमा पनि चाँडै यातायतका साधन सञ्चालन गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यो सडकलाई राजधानी काठमाडौँबाट रामेछाप आवतजावत गर्ने सवारी साधन सञ्चालन गर्ने वैकल्पिक सडकका रूपमा हेरिएको छ ।