घटस्थापनादेखि विजय दशमीसम्म देवी स्तुतिको रुपमा मिथिलाञ्चलमा भिझिया नृत्य गर्ने परम्परा रहेको छ ।
बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रही आएको छ । यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो त्यसकै नमूना हो ।
टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ । झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत वातावरणको निर्माण हुन्छ । झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रुपमा समेत प्रचार गर्दै आईरहेका छन् ।
झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा यो लोकनृत्य गर्ने गरिन्छ । झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट शुरु भएको मानिन्छ । वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कलान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको संस्कृतिविदहरुको भनाई छ । छैटौं शताब्दीदेखि ११ औं शताब्दीसम्मको बीचमा तन्त्र शक्ति हावी भएको बेलादेखि झिझियाको प्रारम्भ भएको जनविश्वास छ ।