बिर्तामोड। वडा नम्बर २ लाई फराकिलो गोल अन्तरले हराउँदै वडा नम्बर ९ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा वडा नम्बर २ लाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै वडा नम्बर ९ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
प्रतियोगितामा वडा नम्बर ९ का दिशान्त राई एक्लैले पाँच गोल गरे । उनले खेलको आठौँ, १५ औँ, ३७ औँ, ६५ औँ र ६६ औँ मिनेटमा गोल गर्दै वडा नम्बर ९ का लागि शानदार प्रदर्शन गरे ।
त्यस्तै, खेलको १० औँ मिनेटमा सन्देश मगर र ५२ औँ मिनेटमा सुमन बानियाँले वडा नम्बर ९ का लागि एकएक गोल गरे ।
खेलको प्लेयर अफ म्याच वडा नम्बर ९ का पाँच गोलकर्ता राई भए । उनलाई समिति उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङ र वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद चम्लागाईंले नगद २ हजार र ट्रफी प्रदान गरे ।
यसैबीच, यसअघि भएको भेट्रान प्रतियोगितामा वडा नम्बर २ ले वडा नम्बर ९ लाई हराएको समितिका सचिव बिसन लिम्बूले जानकारी दिए ।
पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष विकास गिरीले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् ।
विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।