Aamsanchar

लेबनानमा खटिएका नेपाली शान्ति सेना बंकरमा

Author Image
बुधवार, असोज ३०, २०८१

काठमाडौं – संयुक्त राष्ट्र संघको आह्वानमा लेबनानमा खटिएका नेपाली शान्ति सेना सुरक्षित छन्। नेपाली सेनाले युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनन (युनिफिल)का लागि खटिएका नेपाली शान्ति सेना सुरक्षित रहेको नेपाली सेनाले मंगलबार जनाएको छ।

 

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले शान्ति सेनामा खटिएका नेपाली सैनिक नियमति सम्पर्कमा र सुरक्षित रहेको बताए। उनले भने, ‘घटनाक्रमहरू विकसित भइरहेका छन्। हाम्रो फौज सुरक्षित नै छ। फौज बंकरमा छन्।’

दक्षिणी लेबननस्थित ‘ब्लु लाइन’ भनिने सीमा क्षेत्रमा नेपालीसहित ३४ राष्ट्रका शान्ति सेना छन्। हाल लेबनानमा ८ सय ७७ नेपाली सेना छन्। शान्ति मिसनको लागि खटिएका नेपाली सेना लेबनान र इजराइलको सीमा क्षेत्रमा तैनाथ छन्।

 

लेबनानमा शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्रले निन्दा गरेका छन्। आइतबार लेबनानमा रहेको युनआईएफआईएफलको बेसमा इजरायली सेनाले आक्रमण गरेको थियो। शान्ति मिसनमा खटिएका कम्तीमा १५ जना सामान्य घाइते भएका छन्। घाइते शान्ति सेनाको अवस्था सामान्य रहेको र उपचार जारी रहेको मिसनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ।

उता मंगलबार पुनः इजरायलले उत्तरी लेबनानमा गरेकोे हवाई आक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। इजरायलको हवाई आक्रमणबाट उत्तरी लेबनानमा २१ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार उक्त घटनामा अन्य केही मानिस घाइते भएका छन्। उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको हो।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा तैनाथ नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली सेनाबाट शान्ति सैनिकमाथि गरेको आक्रमणको निन्दा गरेका छन्। उनीहरूले शान्ति सेनामा खटिएका सैनिकको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। उनीहरूले यस्ता कार्य तत्काल रोकिनुपर्ने र उचित छानबिन हुनुपर्ने मागसमेत गरे।

विज्ञप्तिमा सबै राष्ट्रले दक्षिणी लेबनान र मध्यपूर्वमा स्थिरता र शान्ति ल्याउनु मुख्य उद्देश्य रहेकोले यूएनआईएफआइएल मिसन र यसको गतिविधिलाई समर्थन गरेको उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)