बिर्तामोड । झापा अर्जुनधारा १ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल श्री शङ्कराचार्यपीठ साधुटारमा आगामी माघ १ गते देखि ११ गते सम्म आयोजना हुने ‘सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग’ आयोजना आयोजक समिति गठन गरिएको छ ।
आज शनिबार श्री शङ्कराचार्यपीठको ४९ औं साधारण सभाले महायाग आयोजक समिति गठन गर्ने निर्णय गरेको हो ।
श्री शङ्कराचार्यपीठ व्यवस्थापन समिति अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाको संयोजकत्वमा १ हजार १११ सदस्सीय सामिति गठन गर्ने निर्णय भएको अध्यक्ष खतिवडाले जानकारी दिए ।

पूर्वाञ्चलमै पहिलो पटक साधुटारमा सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग एवम् गरुड महापुराण पाठ प्रवचन हुन लागेको आयोजक संस्थाले जनाएको छ ।
अध्यक्ष खतिवडाका अनुसार अभिषेकात्मक अतिरुद्र महायाग भनेको एक पटक रुद्री पढेर गर्नुलाई रुद्र, ११ पटक रुद्री पढेर अभिषेक गर्नुलाई रुद्री, १२१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई लघुरुद्री, १,३३१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई महारुद्री र १४,६४१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई अतिरुद्री भनिन्छ ।
१५१ जना उपाध्याय ब्रह्ममण पण्डितलाई महायागमा वरण गर्ने अध्यक्ष खतिवडाले बताए । महायाग सम्पन्न गर्न अनुमानित २ करोड रुपैयाँ खर्च हुने र उक्त रकम सबै उदारमनका सज्जनहरूको श्रद्धा दानबाट प्राप्त हुने आयोजक संस्थाले जनाएको छ ।

महायागबाट रहेको यज्ञविशेष गुरुकुलको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोडको अक्षयकोष स्थापना महाअभियानमा सुरक्षितसमेत गरिने अध्यक्ष खतिवडाले बताएका छन् । महायागमा अभिषेक, पाठ, हवन बिहान ८ बजेबाट शुरु भएर १२ बजेसम्म हुनेछ भने १ बजेबाट प्रवचन हुने बताइएको छ । श्री शङ्कराचार्यपीठमा श्री वेद उदाङ्ग संस्कृत पाठशाला पनि सञ्चालनमा रहेको छ ।

२०३३ सालमा स्थानीय केदारनाथ खतिवडाको अगुवाईमा सामाजिक सद्भाव र प्रेरणाबाट आर्ष गुरुकुलीय आचारसंहिता अनुरूप सञ्चालन हुनेगरि संस्कृत पाठशालाको प्रारम्भ भएको थियो ।



