Aamsanchar

तिहार नजिकिएसँगै मादल बनाउन भ्याइनभ्याइ

Author Image
बुधवार, कार्तिक ७, २०८१

हिले- धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ छ । नेपालीको दोस्रो महान् चाड तिहार नजिकिएसँगै उहाँसहित उहाँको परिवारलाई मादल बनाउन चटारो भएको हो ।

तिहारको समयमा मादलको माग अत्यधिक भएका कारण सार्की बिहानदेखि राति अबेरसम्म व्यस्त रहँदैै आउनुभएको छ । उहाँले आफ्नो जीवनको करिब पाँच दशक त मादल बनाउन बिताउनुभएको छ । त्यसमा पनि करिब दुई दशक यता भने जिल्लामा मादलको माग धान्दै आउनुभएको छ ।

उहाँले मादलसहित डम्फु, सारङ्गीलगायतका सामग्री निर्माण गर्ने गर्नुभएको छ । तर सबैभन्दा बढी र सदाबहार माग भने मादलकै हुने गरेको छ । उहाँले यो पेसामा बाह्रै महिना कहिले पनि खाली बस्नुपर्दैन । बनेका मादल घरबाट बिक्ने गरेका छन् ।

उहाँसँगै अहिले उहाँको श्रीमती चन्द्रमाया, भान्जा रमेश रोका, छोरा निरबहादुर, भतिजा तथा नातिहरु व्यस्त हुनुहुन्छ । मादल बनाउन कठिन हुने र आकारअनुसार ३ देखि ५ दिनसम्म लाग्ने गर्छ ।

त्यस्तै, आकारअनुसार एउटा मादलको २५ सयदेखि १३ हजारसम्ममा बिक्री हुँदै आएको छ । काठको ढुङ्ग्रो बनाउन गाह्रो हुने, गोरुको छाला भारतबाट ल्याउनुपर्ने हुँदा मादल बनाउन गाह्रो हुने गरेको छ । मादल बनाउन कला संस्कृति जोगाउन सहयोग पुग्ने र लोप हुने अवस्थामा पुगेको कुरालाई जोगाउन सकिने भएकाले पनि अहिले सबै पेसा छाडेर बुवालाई मादल बनाउन सहयोग गरिरहेको छोरा निरबहादुर सार्कीले बताउनुभयो ।

“मादल बनाउन कच्चा पदार्थदेखि धेरै कुराको समस्या छ, तर बजारमा माग धेरै छ त्यही मागअनुसार उत्पादन गर्न सक्ने अवस्था छैन” उहाँले भन्नुभयो । तिहारमा देउसीभैलो खेल्न साथै विभिन्न नाचमा मादलको प्रयोग हुन्छ । तिहार नजिकिएसँगै मादलको माग बढ्नेगरेको छ ।

पछिल्लो समय मादल बनाउने पेसा भने लोप हुँदैगएको छ । पहिले मादल बनाउनेहरु धेरैले अहिले पेसा परिवर्तन गरिसकेका छन् । तर आफूहरु मादलको बजार देखेर यही पेसामा लागिरहेको सार्कीका भन्जा रमेश रोक्काले बताउनुभयो । द्वन्द्वकालीन तथा कोभिडताका मादलको माग घटे पनि अहिले पुनः माग बढेको उहाँको भनाइ छ ।

मादल बनाउन खमारी, लामपाटो, सिरीस, खिर्रोजस्ता काठ र बाख्रा, भैंसी, गोरुको छालालगायत कच्चा पदार्थको आवश्यक पर्दछ । ती कच्चा पदार्थ अहिले पाउन समस्या भएको सार्कीको भनाइ छ । तिहारमा मादलको माग बढी तर कच्चा सामग्रीको अभावले बजारको माग पूरा गर्न मुस्किल पर्ने उहाँको भनाइ छ ।

तैपनि उहाँ आफ्नो पेसाबाट पछि हट्नुभएको छैन । उहाँहरुले बनाएको मादलको धनकुटामा मात्र नभई सङ्खुवासभा, सुनसरी, तेह्रथुम मोरङ जिल्लाका विभिन्न स्थानबाट माग हुने गरेको छ । तिहारमा खेलिने देउसी भैलोमा मादलबिना राम्रो नहुने र मादल बजाउँदा संस्कृति संरक्षण हुने मादलका ग्राहक बताउँछन् ।

पछिल्लो समय इमेल इन्टरनेट र आधुनिक सामानको प्रयोग बढिरहँदा अन्य पुराना शैलीका बाजागाजा हराउँदै गए पनि मादलको माग उत्तिकै बढेको प्रयोगकर्ताको अनुभव छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर