Aamsanchar

माेरङमा टिपरले किचेर मृ*त्यु भएकी महिलाको पहिचान खुल्यो

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

विराटनगर – मोरङको सुन्दरहरैँचामा टिपरले किचेर मृत्यु भएकी स्कुटर चालक महिलाको पहिचान खुलेको छ। सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा बिहीबार दिउँसो ३स्४० बजेतिर दुर्घटना हुँदा महिलाको मृत्यु भएको थियो। तत्काल मृतकको पहिचान खुलेको थिएन।

 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले किचेर मृत्यु भएकी महिला धनकुटाको खोकु घर भइ सुनसरीको धरान उपमहानगरपालिका–१५ की ४३ वर्षीया भीमा राई रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ ४स्३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। मृतक को २८ प ६१३२ नम्बरको स्कुटरमा सवार थिइन्।

डीएसपी जोशीका अनुसार टिपरलाई ‘ओभरटेक’ गरेर अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २७९१ नम्बरको बसमा स्कुटर ठोक्किएको थियो। बसमा ठोक्किएपछि अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई पछाडिबाट आउँदै गरेको बालुवा लोड गरेको टिपरले किचेको जानकारी उनले दिए।

तीव्र गतिमा रहेको टिपरले किचेपछि शरीरका विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर बनेको थियो। यसअघि प्रहरीले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई टिपरले ठक्कर दिँदा दुर्घटना भएको जनाएको थियो। तर, घटनास्थलको सीसी क्यामेरा फुटेज हेर्दा दुर्घटनामा बस पनि संलग्न रहेको तथा टिपर र स्कुटर एउटै दिशाबाट आउँदै गर्दा दुर्घटना भएको पत्ता लागेको हो। शवलाई पोस्टमार्टमका लागि अहिलेसम्म कोशी अस्पतालमै राखिएको छ।

डीएसपी जोशीले मृतकका परिवारका सदस्यले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिइसकेको र शवको पोस्टमार्टमको प्रक्रिया अघि बढेको बताए। उनका अनुसार टिपर र चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २९ वर्षीय श्यामबाबु चौधरी तथा बस र चालक झापाको मेचीनगर नगरपालिका–७ का ४० वर्षीय नेत्र दर्जीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।

दुर्घटनालगत्तै टिपर चालक चौधरी फरार भएका थिए। प्रहरीले खोजी गरेर नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर