
तस्वीहरू : हेमराज निरौला

झापा । ताप्लेजुङ जिल्लामा रहेको पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।




पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । यद्यपि, पछिल्लो समय पाथीभरा केबलकार कम्पनीले ठेक्का पाएपछि निर्माण सुरु गर्ने प्रयास भएको थियो ।
‘बकाइदा सरकारले अनुमति दिएर शिलान्यास गर्दा पनि उहाँहरुले विवाद झिक्नुभयो, प्रशासनबाट पनि हामीलाई पर्याप्त सहयोग भएन’, मेयर मादेनले थपे ।
प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी लगेपछि विवाद बढेको थियो । त्यसक्रममा निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो ।
‘निर्माण पक्षले चाबी माग्दै गर्दा माथिपटिबाट ढुंगा बर्सियो, त्यसपछि त दुवै पक्षबीच हात हालाहाल भइहाल्यो,’ निरौलाले भने, ‘दुवै पक्षतर्फ घाइते भएका छन् ।’
पाथीभरा देवीको मन्दिर ताप्लजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।

