Aamsanchar

पाथीभरामा केबुलकार परियोजनाविरुद्ध कोणसभा, एक्साभेटरसहितका निर्माण सामग्री हटाउन माग

Author Image
शनिवार, कार्तिक २४, २०८१

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ। शनिबार परियोजनाविरुद्ध पाथीभरा क्षेत्रको काफ्लेपाटीमा विरोधमा रहेको पक्षले कोणसभा गर्दै केबुलकार खारेज गर्नुपर्ने माग गरेको हो।

काफ्लेपाटी क्षेत्रमा प्रदर्शन र कोणसभा गर्दै परियोजना विरोधी पक्षले कुनै पनि हालतमा केबुलकार बन्न नदिने दोहोर्याउँदै खारेज गर्न माग गरेको छ। परियोजनाको विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमले कोणसभालाई सम्बोधन गर्नुहुँदै केबुलकार तत्काल खारेज गर्नुपर्ने बताउनुभयो।

लिङ्खिमले शुक्रबार काफ्लेपाटी क्षेत्रमा भएको झडपका क्रममा धारिलो हतियार खुकुरी र ढुङ्गा प्रहार गरी मजदुरसहित आन्दोलनकर्मीलाई घाइते बनाउनेमाथि कानुनी कारबाहीको माग गर्नुभयो। उहाँले सामाजिक अशान्ति फैलाउने र आतङ्कित बनाउनेगरी भएको झडपको नेतृत्व गर्ने समेतलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रशासनसँग माग गर्नुभयो।

यस्तै पहिचानको लागि युवाफोर्सका संयोजक नवीन पोमुले संवेदनशील विषयमा प्रशासन मुकदर्शन बन्नु नहुने बताउनुभयो। संवेदनशील विषय र सङ्घर्षरत पक्षको मागलाई सरकारले बेवास्ता गरे कडा आन्दोलन र प्रतिकारमा उत्रन बाध्य हुने उहाँले बताउनुभयो। कोणसभालाई पहिचानवादी महिला नेतृ रीता मादेनले पनि सम्बोधन गर्नुभएको थियो।

सम्बोधनका क्रममा वक्ताहरुले केबुलकार खारेजसँगै निर्माणको कामका लागि पाथीभरा क्षेत्र पुर्‍याइएको एक्साभेटरसहितका निर्माण सामग्री तत्काल हटाउन पनि निर्माण कम्पनी र परियोजना पक्षलाई आग्रह गरेका छन्। शुक्रबार केबुलकार परियोजनाको शिलान्यास गर्ने क्रममा परियोजनाको पक्ष र विपक्षबिच ढुङ्गा हानाहान अर्थात झडप भएको थियो। झडपका क्रममा दुवै पक्षका र प्रहरीसमेत गरी छ जना घाइते भएका थिए।

यता केबुलकार परियोजनाको निर्माण कार्यको जिम्मा पाएको निर्माण कम्पनी हिमालयन कन्स्ट्रकसन प्रालिका सञ्चालक इन्द्र केदेमले शुक्रबार परियोजनाको शिलान्यास भएको र अब कामलाई निरन्तर अघि बढाउने बताउनुभयो। निर्माण व्यवसायी केदेमले विवादमा नगई समन्वय र सम्वाद गर्दै कामलाई निरन्तरता दिने बताउनुभयो। परियोजनाको विपक्षमा रहेकालाई पनि केबुलकारको काम गर्नमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ।

पाथीभरा क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो। केबुलकार निर्माण गरिने भएपछि मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केबुलकार खारेजी सङ्घर्ष समितिले सुरुदेखि नै विरोध गर्दै आएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर