काठमाडौं : फिफा विन्डोअन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा राति पौने ९ बजे शुरु हुनेछ।
फिफा वरीयतामा नेपालभन्दा २५ स्थान माथि रहेको अफगानिस्तानसँग नेपालले ११ वर्षपछि खेल्न लागेको हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो । जसमा अफगानिस्तानले १-० गोलको जित निकालेको थियो ।
सन् २००६ देखि नेपाल र अफगानिस्तानबीच ६ खेलमा प्रतिस्पर्धा भएको छ, जसमध्ये नेपालले ३ खेल जित्दा अफगानिस्तानले २ खेल जितेको छ। एक खेल बराबरीमा टुंगिएको छ। शनिबार हुने अफगानिस्तान विरुद्धको खेलमा नेपाल किरण चेम्जोङको कप्तानीमा मैदान उत्रिनेछ।
त्रिदेशीय मैत्रीपूर्ण खेलको पहिलो स्पर्धामा नेपाल बुधबार घरेलु टोली ताजकिस्तानसँग ४-० गोलले पराजित भएको थियो ।