वराहक्षेत्र- हिउँद लागेसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ । अन्य वर्षभन्दा यस वर्ष हिउँदको सुरुवाती समयमै आन्तरिक पर्यटकको आगमन सुरु भएको हो ।
वर्षा सकिएसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा दैनिक वृद्धि हुँदै गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार हिउँदमा बढी मात्रामा आन्तरिक पर्यटक कोशीटप्पु आरक्ष घुम्न आउने गरेका छन् ।
उहाँका अनुसार आगामी वर्षभन्दा अहिले आन्तरिक पर्यटकको आगमन राम्रो छ । आरक्षमा बढी मात्रामा शैक्षिक अवलोकनका लागि विद्यार्थी आउने गरेका छन् ।
पछिल्लो समय आरक्ष कार्यालयको अभिलेख अनुसार दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । अर्ना, चरा, गैँडा र हात्ती हेर्न पर्यटक कोशीटप्पु आरक्ष आउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
आरक्षमा चरा र वन्यजन्तु हेर्नकै लागि आन्तरिक र वाह्य पर्यटक आउने गरेका हुन् । वाह्य पर्यटकमा बेलायत, फ्रान्स, अमेरिका, चीन, रसिया आदि देशबाट प्रत्येक वर्ष पर्यटक कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय आउने गरेका छन् । आरक्ष क्षेत्रसँग जोडिएका स्थानीय होटेल र सामुदायिक होमस्टेमा बास बसेर आरक्ष क्षेत्र घुम्ने गरेको स्थानीय प्रेमनारायण अधिकारीले जानकारी दिनुभयो । साइबेरिया, रसिया, ताजिकिस्तान, तान्जेनिया र तिब्बतबाट आउने पानीहाँस तराई क्षेत्र र आरक्षको सिमक्षेत्र र तालमा सजिलै चरा देखिने हुँदा चरा हेर्न पर्यटक कोशीटप्पु वन्यन्तु आरक्षमा आउने गरेको चराका जानकार अनिष तिम्सिनाले बताउनुभयो । पाहुना चरा कोशीटप्पु आरक्षको सिम क्षेत्रमा सजिलै देखिने हुँदा चराका पारखी आउने गरेका छन् ।
जाडो छल्न पूर्वी पहाडी क्षेत्रबाट तराईको घाँसे मैदान र सिम क्षेत्रमा आएका फिस्टा, चुइयाँ, भद्राई र अर्जुनक प्रजातिका चरा हेर्न पर्यटक आउने गरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र र आसपासका क्षेत्रमा चरा आउने हुँदा चराका पाराखीहरू कोशीटप्पु आउने गरेका हुन् ।
मासिँदै सिमसार क्षेत्र
सप्तकोशी नदीमा गत असोजको दोस्रो हप्ता आएको ठुलो बाढीले आरक्षको नदी क्षेत्रमा रहेका ठुला पोखरी, तलाउ, ताल, दह, दोभान र जलाशय क्षेत्र पुरिएको छ । रामसार सूचीमा सूचीकृत भएको नेपालकै पहिलो सिमसार क्षेत्र बाढीले पुरिएको हो
दुई सयभन्दा बढी तलाउ, ताल, दह बाढीसँगै आएको लेदोले पुरिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । केही वर्षदेखि कोशीटप्पुमा रहेका सिम क्षेत्र सुक्न थालेपछि सुक्खा बन्दै गएका थिए । बाढीसँगै नदी क्षेत्रभित्र भएका ताल, दह पुरिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सीमसार क्षेत्र हो । जलीय प्राणीको प्राकृतिक वासस्थानका रूपमा रहेका सीम क्षेत्रको सरसफाइ नहुँदा सीम क्षेत्र प्राकृतिक रूपमै पुरिँदै र सुक्दै आएको वरिष्ठ चराविद् डा। हेमसागर बरालले बताउनुहुन्छ । उहाँका अनुसार कोशीटप्पु क्षेत्रका सीमसार क्षेत्र निजी क्षेत्रमा पनि भएकाले मासिँदै गएको छ । बाह्य मिचाहा वनस्पति, सिलटेसन, नदीको धार परिवर्तन, कोसीको बाढीले सिमसार पुरिनु, हिउँदमा जलस्तर न्यून हुनुलगायतले प्रत्येक वर्ष सीम क्षेत्र घट्दै गइरहेको छ ।
सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षणलाई नेपालकै पहिलो रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार सिमसार क्षेत्रमा पोखरी, तलाउ, ताल, धाप, कुण्ड, दह, दोभान, जलाशय पर्छन् । सीम क्षेत्र सप्तकोशी नदीको भङ्गालोमा आश्रित भएकाले स्थिर रूपमा एकै ठाउँमा मात्र नदी नबहने भएकाले पनि सीम क्षेत्र सुक्दै र पुरिँदै गएको छ । प्रत्येक वर्षामा कोशी नदीले आफ्नो भङ्गालो परिवर्तन गर्दा आरक्ष क्षेत्रका ताल, दह सुक्दै गएका हुन् । सीमसार क्षेत्रको जैविकीय महत्वको साथै पर्यटकीय, सामाजिक, आर्थिक र सांस्कृतिक महत्व जोडिएको छ ।
पहिला जस्तो आरक्ष क्षेत्रको सीम क्षेत्रमा जल पन्छीसमेत कम देखिन थालेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । सीमसारमा आश्रित जीव कछुवा, सरिसृप, उभयचर, घोङी, गगटो र पन्छीका प्रजाति विस्तारै हराउँदै गएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रभन्दा बाहिरका सीम क्षेत्र सुकाउँदै र मास्दै लगेकाले पनि सीम क्षेत्र घट्दै गएको चराविद् बराल बताउनुहुन्छ ।