धरान – सुनसरीको इटहरी उपमहानगरपालिका-६ मा संचालनमा रहेको गजुरमुखी होटलबाट ६ जना जुवाडे पक्राउ परेका छन्। गयराति होटलको तीनतलामाथि तासजुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
होटलको तेस्रो तलामा पहरी निरीक्षक महेन्द्र पराजुली नेतृत्वको टोलीले उनीहरूलाई पकाउ गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी भण्डारीले बताए। पक्राउ पर्नेमा होटल संचालक नविन पुरी, इटहरीका ४५ वर्षीय जीवन कार्की, इटहरी-१७का ५२ वर्षीय दुर्गा कार्की, बराहक्षेत्र नगरपालिका-१ का ३० वर्षीय सुबास राइ, बराहक्षेत्र-८ का खडग बहादुर बिस्ट र रामधुनी नगरपालिका-५ का ४६ वर्षीय गौरी शंकर रहेको डिएसपी भण्डारीले बताए।
पक्राउ परेका जीवन कार्की र खडग बहादुर बिष्ट पेसेवर जुवाडे रहेको प्रहरीले जनाएको छ। दुबैजना गत भाइटिकाको दिन सुनसरीको नडाहाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। जुवाडेको साथबाट २ लाख २८ हजार ५ सय नगद र ८ प्याकेट तास बरामद गरिएको छ।
पक्राउ परेका विरुद्ध आजै म्याद थप गरि घटनाको अनुसन्धान थालिने डिएसपी भन्डारीले बताएका छन्। प्रहरीले पक्राउ परेका जुवाडेलाई सार्वजनिक भने गरेको छैन।