उर्लाबारी- मोरङको उर्लाबारीका लिम्बू समुदाय चासोङ तङनामको तयारीमा जुटेका छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङनाम मनाउने गर्छन् ।
चासोक पर्वका अवसरमा उर्लाबारी–९ स्थित आम्बारीमा मङ्सिर ३० गतेदेखि पुस ४ गतेसम्म ५ दिने बृहत् सांस्कृतिक कार्यक्रमसहित जातीय महोत्सवको आयोजना गर्न लागिएको किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताउनुभयो ।
खेती प्रणालीको विकासदेखि लिम्बू समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका छन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ । चासोक तङनामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि सूर्यलाई विशेषले पूजा अर्चना गरिन्छ । लिम्बूहरू चासोक तङनामलाई अन्नप्रतिको सम्मान गर्ने पर्वका रुपमा मान्ने गर्छन् ।
लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् (देवता)नै मान्दै आएका छन् । पैँयु फुल्ने समय माछा, चरा दक्षिणतिर लाग्ने उँधौली याम र सूर्य दक्षिणायन हुने समयको संयोगमा चासोक तङ्नाम मनाउने गर्दछन् । लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ ९प्रकृतिदेवी० लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व चार्ड अर्थात् उत्सव जनाउँछ ।
लिम्बूहरूको मुन्धुम अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथ्यो । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गर्नुभयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको छ । प्राप्त बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला)ले संरक्षण गरेर कृषियुगको सुरुवात गरिन् ।
आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए। यसपछि मानिसले स्वास्थ्यवर्धक खाद्यान्न पाउन थाले । धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आआफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत)बोलाई गर्ने गरिन्छ । फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिने गरिएको चासोक तङनामक सांस्कृतिक कार्यक्रम संयोजक प्रकाश कन्दङ्वाले बताउनुभयो ।
चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोका छेउमा झुन्ड्याइन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्दछ। ‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक स्थलमा आयोजना गरिन्छ । प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो,चासोक तङ्नाम । यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्। धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ ।
मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ । यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ। विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मङ्सिरे पूर्णिमाका दिनमा नया अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ। चासोकमा फुटबल, छेलोलगायत विभिन्न प्रतियोगिता हुने खेल संयोजक राजन काम्बाङ्ले बताउनुभयो ।
चासोकलाई भव्य र सभ्य बनाउन व्यापक तयारी गरिएको प्रचारप्रसार संयोजक विजय आङबुहाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ´यस वर्ष राके मेलालाई बिर्साउने गरी हामी तयारी गरिरहेका छौं ।`