Aamsanchar

केपिलासगढी गाउँपालिकाद्वारा १९ महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया

Author Image
बुधवार, मंसिर १२, २०८१

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको निःशुल्क उपचार गराएको छ । पाठेघरको समस्या भएका गाउँपालिका भरिका ३२ जना महिलाको निःशुल्क उपचार गराएको गाउँपालिकाले जनाएको छ । ३२ जनामध्ये १९ जनाको शल्यक्रियामार्फत उपचार गरिएको गाउँपालिकाका अध्यक्ष समीर राईले बताउनुभयो ।

गाउँपालिकाले खटाएको स्वास्थ्यकर्मीले वडा वडामा पुगेर पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको पहिचान गरेको थिए । पहिचान भएका महिलाहरुको सामुदायिक सेवा प्रतिष्ठान नेपालको आर्थिक सहयोगमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल लगेर उपचार गरिएको हो । अस्पताल लगिएका ३२ जना महिलामध्ये १९ जनाको शल्यक्रिया गरिएको हो । शल्यक्रिया गरिएका महिलाका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चार जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगारानी र हेरचाहमा उपचार भइरहेको पालिका अध्यक्ष राईले बताउनुभयो ।

गाउँपालिकाले बस रिजर्भ गरेर मङ्सिर ७ गते पालिकाबाट महिलाहरुलाई अस्पताल लगेको थियो । मङ्सिर ८ गतेबाट उपचार सुरु गरिएको थियो । अस्पताल लगिएका ३२ जना महिलामध्ये सात जनामा पाठेघरसम्बन्धी दोस्रो चरणको समस्या मात्र देखिएको जनाइएको छ ।

दोस्रो चरणको समस्यामा रहेका महिलाले शारीरिक व्यायाम र नियमित औषधी प्रयोग गर्दा सुधार हुने भएकाले शल्यक्रिया नगरिएको बताइएको छ । बाकी छ जनामा विभिन्न प्रकारका रोगको समस्या देखिएका कारण उनीहरुलाई पुनः पठाउनेगरी फर्काइएको पालिकाले जनाएको छ ।

पाठेघर खस्ने समस्या भएका महिलालाई यसअघि जिल्लाका अन्य केही स्थानीय तहले पनि सोही अस्पताल लगेर शल्यक्रियासहितको निःशुल्क उपचार गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर