Aamsanchar

अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान

Author Image
बुधवार, मंसिर १२, २०८१

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उनले भने, ‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’ पालिका भित्रका सबै वडामा दलित र गैह्रदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरिएको उनले जानकारी दिए ।

‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य हो,’ उनले भने, ‘यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौं ।’ दलित र गैह्रदलितबीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए । ‘दीर्घकालीन रुपमा उहाँहरूले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ,’ उनले भने, ‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर