विराटनगर – तासको खालमा छापा हानेर प्रहरीले मोरङको लेटाङबाट बुधबार राति ९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका-५ खेरुवाका कसम सूर्य मगरको घरको कोठामा चलिरहेको तास खालमा राति ११:३० बजेतिर छापा हानेको थियो ।
त्यस क्रममा घरधनी ३१ वर्षीय कसम सूर्य मगरसहित लेटाङ-५ का ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण मगर तथा लेटाङ-४ का ३१ वर्षीय सागर भुजेल, लेटाङ-३ का ३६ वर्षीय नरबहादुर गुरुङ र ३१ वर्षीय दिपेन श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाले खेल्न प्रयोग गरेको १ सय ९ पत्ती तथा नखोलिएको २ बुक तास खालबाट बरामद भएको छ । त्यस्तै, खालबाट ४८ हजार ५ सय र खेल्नेहरुको साथबाट ६१ हजार ८ सय गरेर १ लाख १० हजार ३ सय रूपैयाँ बरामद भएको जोशीले बताए ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी जोशीले दिए ।