Aamsanchar

विराटनगरका उद्योगीद्वारा बथनाहा–आइसिपी कार्गो रेल चलाउन माग

Author Image
शुक्रवार, मंसिर १४, २०८१

विराटनगर- विराटनगरका उद्योगीले भारतको बथनाहा–आइसिपी कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन सरकारसँग आग्रह गरेका छन् । उद्योग सङ्गठन मोरङ अध्यक्ष राकेश सुराना नेतृत्वको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँग भेटेर कार्गो रेल सञ्चालनमा सहयोग गरिदिन माग गरेको हो ।

भारतको बथनाहा–कटहरी कार्गो रेल निर्माणाधीन रहे पनि बथनाहादेखि विराटनगर–१८, आइसिपीसम्म २०८० जेठ १० गते उद्घाटन भएको थियो तर शुल्कलगायतका विवादका कारण उद्घाटनपछि अर्को कार्गो रेल आउन सकेको छैन । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुरानाले सरकारले सहजीकरण गरिदिए कार्गो रेल सञ्चालनमा आउने आशा रहेको बताउनुभयो । अध्यक्ष सुरानाले सरकारसँग त्यसबाहेक उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएको विषयमा समेत जानकारी गराएको बताउनुभयो । “औद्योगिक क्षेत्रमा देखिएको सुस्तता कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गरी समाधानका लागि पहल गर्न अनुरोध गरेर फर्केका छौँ,” सुरानाले भन्नुभयो ।

बजारमा लामो समयदेखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुँदै गएको र यो क्रम अझ लम्बिए अर्थतन्त्रमा नराम्रोसँग प्रभाव पर्ने उद्योगीको भनाइ छ ।सरकार गठन भएको चार महिनासम्म पनि अर्थतन्त्र चलायमान नहुनुले यसको असरले औद्योगिक क्षेत्रमा नकारात्मक प्रभाव बढाएको उद्योगीको बुझाइ छ ।यसै गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपाली वस्तुले ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाणपत्र लिएपछि मात्रै भारतनिर्यात गर्न पाउने भारतीय नीतिले निर्यातजन्य कतिपय वस्तुमा असर पारिरहेको जानकारी गराइएको अध्यक्ष सुरानाले बताउनुभयो ।

उहाँका अनुसार भारतको यो नीतिले नेपालका प्लाइउड, जुत्ता, सेनेटरी प्याड, सिमेन्ट उद्योगलाई समस्यामा पारेको छ । भारतले लागु गरेको नीतिले नेपाली उद्योगका लागि अवसर दिएको भए पनि तत्काल त्यसले निर्यातमा पारेको असरलाई नेपाली वस्तुलाई ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाणपत्र लिने प्रक्रियामा कूटनीतिक माध्यमबाट सहजीकरण हुनुपर्ने माग गरिएको छ ।उद्योगीको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँगको छलफलमा आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान बनाउन सूक्ष्म अध्ययन गरी सरकार र निजी क्षेत्रबिचको समन्वय बढाउन अनुरोध गरेको बताइएको छ ।

टोलीले विराटनगरमा आगामी माघ ११ देखि २० गतेसम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा समेत सङ्घीय सरकारले सहयोग गर्नुपर्ने विषयसमेत उठान गरेको पूर्वअध्यक्ष सुयश प्याकुरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)