झापा – बालिकालाई जबरजस्ती करणी (बलात्कार)गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।
बिर्तामोड–५ स्थित आफ्नै घरमा घरेलु कामदारको रुपमा रहेकी १७ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पूर्व नगर प्रमुख शिवाकोटी पक्राउ परेको प्रहरीले जनाएको छ । बुबाको मृत्यु भएपछि ती बालिका मेचीनगरस्थित एक आफन्तको घरमा बस्दै आएकी थिइन् । बालिकाको आमाले पनि दोस्रो विवाह गरेकी भारतको आसाममा गइसकेकी छिन् ।
शिवाकोटीका चिनजान पर्ने ती आफन्त घरमा बस्दै आएकी बालिकालाई आफ्नो घरको कामसँगै पढाउने भनी शिवाकोटीले लिएर गएका थिए । कक्षा ११ मा अध्ययनरत रहेकी ती बालिका शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी भागेर भारतको आसाम जान लागेकी थिइन् ।
काँकडभिट्टा गेटमा शङ्कास्पद रुपमा भारत जान लागेकी उनलाई माइती नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । संस्थाका एक प्रतिनिधिका अनुसार स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यही घरमा जानुपर्छ भनेर अतालिएकी थिइन् । बालिकालाई फकाएर सोधी खोजी गर्दा पूर्व मेयर शिवाकोटीको जघन्य कर्तुत बारेमा खुलेको उनले बताए ।
त्यसपछि माइती नेपालको सहयोगमा पीडित बालिका हजुरआमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको र प्रहरीले शिवकोटीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।