Aamsanchar

मुस्ताङमा प्रभावकारी बन्दै स्याउ भण्डारणका लागि चिस्यान गृह

Author Image
सोमवार, पौष १, २०८१

म्याग्दी – मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बन्दै गएको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ ।

सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि भनेको मूल्य र बजार दुवै पाएको घरपझोङ गाउँपालिका–२ मार्फाका किसान बुद्धिमान लालचनले बताउनुभयो । चिस्यान गृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा पनि गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने उहाँको भनाइ छ ।

मुस्ताङमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र पालिकाहरूले झन्डै तीन सय मेट्रिक टन क्षमताको १० वटा चिस्यान गृह निर्माण गरेका छन् । वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै किसानले बढी मूल्यमा बिक्री गर्न पाएका हुन् ।

मुस्ताङमा प्रभावकारी भएकाले चिस्यान गृहको माग बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनका प्रमुख भरतराज गौतमले बताउनुभयो ।

मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुक्साङ, चैले लगायतका गाउँमा स्याउको राम्रो खेती गरिन्छ । यहाँका घरपझोङ र वारागुङमुक्ति स्याउका पकेट क्षेत्र हुन् ।

यो वर्ष ८२ करोड रुपैयाँ बराबरको स्याउ मुस्ताङबाट पोखरा, काठमाण्डौलगायत बाहिरी जिल्लामा निकासी हुँदा बाँकी १० करोड रुपैयाँ बराबरको स्याउ मुस्ताङ भ्रमणमा आएका पर्यटकले किनेर लगेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर