Aamsanchar

झापाको हल्दिबारीमा नवनिर्मित पशु उपचार अस्पताल भवनको उद्घाटन

Author Image
सोमवार, पौष १, २०८१

बिर्तामोड ।  झापाको हल्दिबारी गाउँपालिका परिसरमा नवनिर्मित पशु उपचार अस्पताल भवनको आज एक भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। यो अस्पताल भवनको उद्घाटन झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङदेनले गरेका हुन्।

यो अस्पताल भवनको निर्माण कोशी प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँको सशर्त अनुदान र गाउँपालिकाले उपलब्ध गराएको १४ लाख २८ हजार ८ सय १४ रुपैयाँको लागतमा सम्पन्न भएको हो। अस्पतालको कुल लागत ६२ लाख ९२ हजार ५ सय ५१ रुपैयाँ रहेको छ। अस्पतालको निर्माण कार्य २०८० चैत १४ गतेको योजना सम्झौतासँगै सुरु भएको थियो र एञ्जिलिना कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. ले २०८१ कार्तिक मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो।

अस्पताल भवन १३ धुर क्षेत्रफलमा फैलिएको छ र हालसम्म गाउँपालिकाबाट ४८ लाख ६३ हजार ७ सय ३७ रुपैयाँ भुक्तानी भइसकेको छ। बाँकी रकम मुल्यांकन पछि भुक्तानी गरिने जनाइएको छ।

समारोहमा प्रमुख अतिथि माननीय राजेन्द्र लिङदेनले हल्दिबारी गाउँपालिकाले पशु अस्पताल निर्माण गरी एक महत्वपूर्ण कदम चालेकोमा प्रसंसा गर्दै पशुपालन र कृषी क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताए। उनले भने, “धेरै नागरिकहरु पशुपालनमा संलग्न छन्, तर अस्पतालको नजिक नहुदा समस्या भएको थियो। अब यस अस्पतालले पशु उपचारमा सहजता ल्याउनेछ।“

अस्पताल निर्माण पछि, हल्दिबारी र छिमेकी क्षेत्रका पशुपालक किसानहरूलाई रोग उपचार, खोप सेवा, र प्राविधिक तालिम जस्ता सेवाहरू उपलब्ध हुनेछन्। यसले कृषी र पशुपालन क्षेत्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले अस्पताललाई थप प्रभावकारी बनाउन प्राविधिक जनशक्ति थप गर्ने र थप सेवाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिए। यससँगै, गाउँपालिकाले सुत्केरी पशुहरूको प्रोत्साहनका लागि भिटामिन औषधि सहितको सुत्केरी पोषण प्याकेज वितरण गर्दै आएको छ।

समारोहमा पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, जनप्रतिनिधि, कर्मचारीहरू, र संचारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यस अस्पतालको सञ्चालन पशुपालक किसानहरूको आर्थिक स्थिति सुदृढ बनाउन र पशुपालन व्यवसायलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर