रुकुम पूर्व – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ हुकाममा सञ्चालित कुनाखेत मेलामा शव फेला परेको छ। हुकाम घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ पातुखोला बस्ने ४७ वर्षीय लिला बहादुर घर्तीको शव सोमबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उक्त स्थानमा यहाँको चर्चित कुनाखेत मेला चलिरहेको छ। केही दिन अघिबाट खेलकुद लगायतका कार्यक्रम सञ्चालन भएता पनि आज मुख्य मेला लाग्ने गर्दछ। मेला हेर्न भनेर गएका घर्तीको शव मेला लाग्ने स्थानभन्दा करिब तीन सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए। उनका अनुसार सानीभेरी किनारमा उक्त शव फेला परेको हो।
शव फेला परेको सूचना लगत्तै प्रहरी चौकी बाँफिकोटबाट प्रारम्भिक अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक विष्णु चौधरीको कमान्डमा एक प्रहरी टोली घटनास्थल पुगेको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको छ।
घर्तीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा नखुलेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।