Aamsanchar

दुधको पैसा नपाउँदा कोशी प्रदेशका किसान समस्यामा

Author Image
शुक्रवार, पौष १२, २०८१

इलाम- आफूहरूले बिक्री गरेको दुधको मूल्य नपाउँदा कोशी प्रदेशका किसान समस्यामा पर्न थालेका छन् । दुग्ध विकास संस्थानले गत वैशाखयता करिब १९ करोड रुपियाँभन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ । लामो समयदेखि दैनिक बेचेको दुधको रकम नआउँदा दुध बेचेर घर चलाउने किसान बढी समस्यामा परेको कृषक समूह महासङ्घले जनाएको छ । “आठ महिना १५ दिन बित्न लाग्यो, किसानले उधारोमा दुध दिएको तर डिडिसीले एक रुपियाँ पनि दिएको छैन । किसानले कसरी छाक टार्ने ?” राष्ट्रिय कृषक समूह महासङ्घ इलामका संयोजक राम मगरले भन्नुभयो, “म आफैँ पनि काठमाडौँ गएर कृषिमन्त्रीलाई किसानको समस्या राखेँ, अब चाँडै दुधको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुभयो तर अहिलेसम्म सरकार पनि चुपचाप छ, डिडिसी पनि ।”

दैनिक उत्पादन हुने दुध अब डिडिसीलाई नै दिने कि अन्य कुनै निजी सहकारी तथा संस्थालाई भन्नेमा किसान नै अलमलमा परेको संयोजक मगरको भनाइ छ । यसअघि गएको कात्तिकमा कोशी प्रदेशका किसानले कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत रकम भुक्तानीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रप्रति पनि कृषि तथा पशुपन्छी विकासमन्त्री र मन्त्रालयले नै खास चासो नदिएको किसानको गुनासो छ ।

दुग्ध विकास संस्थान (डिडिसी) को तथ्याङ्क अनुसार कोशी प्रदेशमा वार्षिक पाँच लाख ७५ हजार ५०४ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ । संस्थानले इलामबाट आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट छ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आसपासका किसानबाट एक हजार लिटर तथा अन्य डेरी, निजी फार्मबाट १५ हजार लिटर दुध लिने गरेको जनाइएको छ ।

इलाममा मात्र डिडिसीले चार लाख २८ हजार ६४ लिटर दुधको दुई करोड ८२ लाख ५२ हजार २२४ रुपियाँ किसानको रकम दिन बाँकी रहेको जनाइएको छ । कृषक समूह महासङ्घ इलामका अनुसार डिडिसीलाई दुध बेच्ने कोशीका १४ हजार ६९८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखि रकम नपाउँदा किसानलाई दैनिक खर्च चलाउन र छोराछारीलाई विद्यालय पठाउनसमेत मुस्किल पर्न थालेको कृषक समूह महासङ्घ कोशी इन्चार्ज कुसुम दाहालले बताउनुभयो ।

“बिहानबेलुकाको खाना खान समस्या छ । बालबालिकालाई कापी, किताब किन्न समस्या छ । समयमा पैसा चलाउन नपाउँदा धेरै परिवारमा तनाव बढेको छ,” दाहालले भन्नुभयो, “मन्त्रीपरिषद्को बैठक बसेर डिडिसीलाई दुधको मूल्य निकासा गर्न निर्देशन नै दिइएको थियो तर डिडिसीले अटेर गरेकाले हामीले प्रत्यक्ष भोगिरहेका छौँ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर