Aamsanchar

जनयुद्धताका भुमिगत माधव सापकोटा सांसद भएपछि दीक्षित

Author Image
आइतवार, पौष १४, २०८१

काठमाडौं – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संघीय संसद, प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य माधव सापकोटा सुबोध त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा दीक्षित भएका छन् ।

माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म भएको उथलपुथलकारी जनयुद्धको उद्गमस्थलमध्येको एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा श्री सेतिदेवी पञ्चकन्यामावि कुविण्डेबाट हासिल गरेका थिए । तर तात्कालीन राज्यद्वारा अपनाइएको दमनकारी नीतिका कारण उनी माध्यमिक तहको पढाइ पूरा नगरी भूमिगत भएका थिए ।

माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आवद्ध सापकोटा राज्यका कारण विद्यालयमा उपस्थित हुन नसक्ने अवस्था आएपछि भूमिगत भएका थिए ।

सापकोटाका अनुसार २०५२ साल माघ १८ गते उनी पढेको विद्यालयका शिक्षकलाई पक्राउ गर्न आएका सादा पोशाकका प्रहरीलाई स्थानीयले लखेटेपछि एक प्रहरीको ब्रह्मायणी खोलामा डुबेर मृत्यु भएको थियो । त्यस घटनापछि सम्पूर्ण कुविण्डे गाउँबासीलाई चौतारामा उपस्थित गराएर प्रशासनले धरपकड, चरम यातना र दमन सुरु गरेको थियो ।

यसै कारण एसएलसी दिन नपाउँदै माओवादीको भूमिगत राजनीतिमा सहभागी भएको बताउँछन् सापकोटा ।

जनयुद्धका क्रममा शैन्य र राजनीतिक फाँटमा माथिल्लो तहसम्म पुगेका उनी सुरक्षाफौजसँगको दोहोरो भिडन्तमा पटक पटक घाइते भएका थिए । सापकोटाले शान्ति प्रक्रिया प्रारम्भ भएपछि जनमुक्तिसेनाका लागि राखिएको क्यान्टोनमेन्टमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिएका थिए ।

उनले चितवनको शक्तिखोरमा तत्कालीन जनमुक्ति सेनाका लागि खोलिएको जनशैनिक माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए । उनले प्राइभेटबाट आइए, स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

शनिबार त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा सापकोटासँगै १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा सहभागी हुँदै सापकोटाले फेसबुकमा लेखेका छन्, ‘आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ । कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्‍यो । विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएरपछि टुटेको औपचारिक अध्ययन शान्ति प्रकृया पश्चात जोडेको थिएँ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)