Aamsanchar

मेलमिलाप नै देश विकासको आधार : बिपीको नीति झन् सान्दर्भिक

Author Image
सोमवार, पौष १५, २०८१

आजकै दिन ४९ वर्ष अघि (२०३३ पुष १६ गते) आठवर्षे लामो भारत निर्वासनबाट मृत्युदण्ड समेतको पर्वाह नगरी आफ्ना सहकर्मीसहित राष्ट्रिय मेल मिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएको दिन । यस दिन (पुस १६) लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा देश विदेशमा मनाउने गरेको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दुइतिहाइ बहुमतसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्री परिषद र संसद विघटन गरि शाही सेनाको बलमा प्रजातन्त्रको हत्या काम भयो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन् बिपी, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरु माथि देशद्रोहको मुद्दासमेत लगाएर जेल हाल्नुभयो । बिपीलाई जेल हालिएको आठबर्ष पछि २०२५ कात्तिक १४ गते बिपी कोइरालालगायतका नेताहरू जेलमुक्त हुनुभयो । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते बिपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू आफूहरूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै स्वदेश फर्किनुभयो ।

नेपाल तरुण दलको महाधिवेशन उद्घाटनमा सरिक भइरहेको अवस्थामा २०१७ साल पुस १ गत नेपाली काङ्ग्रेसका सभापति समेत रहनु भएका बिपीलाई पक्राउ गरि सुन्दरीजल जेल लगियो र प्रजातन्त्रलाई कू गरियो । भागेर, देश छोडेर हिँडेका राजाहरूलाई स्वदेश फर्काएर राजगद्दीमा राख्ने काँग्रेस र नेपाली जनताको अधिकारप्रति राजाहरूको बारम्बारको आक्रमणकै कारण ज्ञानेन्द्र शाहको पालामा आइपुग्दा नेपालबाट २४० वर्षे इतिहासको विरासत खण्डित गर्दै राजतन्त्र र राजसंस्था समाप्त भयो । विश्वको राजनैतिक इतिहासमा अत्याचार गर्नेहरुको अन्त्य यसरी नै हुँदै आएको छ, हुन्छ ! र गणतन्त्रको बिउ त राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र खोसेर काङ्ग्रेसलाई दमन गर्दै  कांग्रसको काउण्टरमा दरबारिया दानापानीमा रोयल कम्युनिष्ट उत्पादन गरेर रोपेका थिए । यस्तो दरबारिया षडयन्त्रको चक्रब्यूहमा परेको नेपाली काङ्ग्रेसले त्यही राजतन्त्रसँग देश बचाउन मेलमिलापको हात अघि बढायो ।

काङ्ग्रेस इतिहासदेखि नै मेलमिलापको पक्षमा

नेपाली काङ्ग्रेसले आफ्नो स्थापनाकालदेखि नै क्रान्ति र शान्तिको मार्ग पहिल्याएको पाइन्छ । मध्ययुगिन दाशतापूर्ण जहानीयाँ राणा शासनकालको अन्धकार युगमा जनतामा चेतना भर्ने र समानताका लागि संघर्ष गर्ने कांग्रेसीहरुको त्यो परिवेशको राजनैतिक चेतलाई क्रान्तिकारीहरुको उत्साहपूर्ण बलिदानको रुपमा लिइन्छ । नेपालीलाई रैतीबाट नागरिक बनाउन हतियारबन्द क्रान्ति गरेको नेपाली काङ्ग्रेसले भागेर नेपालस्थित भारतीय दुतावासको शरण हुँदै दिल्ली पुगेका राजा त्रिभुवनको राजगद्दी पुनस्र्थापना र राणाहरुलाई पनि देश छोड्न नपर्ने बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरे स्वदेशमै बस्न दिने नीति अंगिकार ग¥यो । यही नीतिका कारण भारतको दिल्लीमा नेपाली कांग्रेस, तत्कालीन राजा श्री ५ त्रिभुवन र राणाहरुका बीचमा त्रिपक्षीय सम्झता भएपछि नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा गरियो । नेपालमा प्रजातन्त्र आएपछि राजाको समेत प्रतिनिधि रहने गरी तत्कालीन श्री ३ माहराज मोहन शम्सेरको नेतृत्वमा बीपी कोइराला गृहमन्त्री रहेको मन्त्री मण्डल पनि गठन भयो । राणहरुको श्री ३ पदवी खोसियो, राजाले मात्र श्री ५ लेख्न पाउने अधिकार रह्यो । यो घटना पनि क्रान्तिका बीचमै पनि शान्ति र बढी रक्तपात नहोस् भन्नका खातिर एउटा मेलमिलापको नीति थियो । प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने एउटा बलियो उदाहरण हो, २००७ सालको त्रिपक्षीय सम्झौता पनि ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर