Aamsanchar

करिब ७ करोड मूल्य बराबरको भन्सार प्रज्ञापनपत्रबिना ल्याइएका सामग्रीसहित ट्रक नियन्त्रणमा

Author Image
आइतवार, पौष २१, २०८१

मुस्ताङ – मुस्ताङको कोरला नाकाबाट भन्सार छलेर ल्याइएका झण्डै सात करोड मूल्य बराबरका सामग्रीसहित एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले शुक्रबार राति ग १ ख ६९९९ नम्बरको ट्रकबाट ती सामग्री बरामद गरेको हो।

गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा ट्रकमा करिब ६ करोड ८१ लाख २० हजार ५१० रुपैयाँ बराबरका सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो। उक्त ट्रक तनहुँको म्याग्दे गाउँपालिका–५ का ३५ वर्षीय विष्णुबहादुर थापाले चलाइरहेको अवस्थामा घरपझोङ गाउँपालिका–४, जोमसोम नजिक नियन्त्रणमा लिइएको थियो।

चालकसहित तीनजना पक्राउ
ट्रक चालक थापा, गाडी मालिक लोमन्थाङ गाउँपालिका–३ फुवाका ४० वर्षीय घ्याचो गुरुङ र सोही गाडीमा रहेका ४१ वर्षीय टसी आङ्गयाल गुरुङलाई कानुनअनुसार नियन्त्रणमा लिइएको छ। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो।

भन्सार प्रज्ञापनपत्रबिना ल्याइएका सामग्री
प्रहरीले ट्रकमा रहेको टिस्यु पेपर र चियापत्तीका लागि मात्र प्रज्ञापनपत्र फेला पारेको छ। तर, अन्य ३१ प्रकारका सामग्री कुनै आधिकारिक कागजातबिना ल्याइएको हुँदा ती सामानलाई पनि नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिएका सामग्रीमा भेप, चाइनिज ब्राण्डी, कम्ब्याड ज्याकेट, लेडिज स्विटर, बख्खु टोपी, चाइनिज मिठाइ, छुर्पी, बिस्कुट, सोलार लाइट, वाटरप्रुफ कपडा, कित्ली, जाडोका कपडा, जुत्ता, थुप्पा चाउचाउ, चुइगमलगायतका सामग्री छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरेर राजस्व अनुसन्धान विभागलाई बुझाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर