ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिर क्षेत्रमा पछिल्लो समय बाक्लो हिमपात भएको छ। चिसो मौसमसँगै सेताम्मे हिउँले ढाकिएको मन्दिर क्षेत्र अहिले तीर्थयात्री र पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

हिमपातले पाथीभरा मन्दिर क्षेत्र झनै सुन्दर देखिएको छ। स्थानीय बासिन्दाका अनुसार यस वर्षको यो पहिलो ठूलो हिमपात हो। हिमपातका कारण मन्दिर जाने बाटोहरूमा यात्रुलाई केही समस्या भए पनि प्रकृतिको अनुपम दृश्यावलोकन गर्न पर्यटकको चाप बढेको छ।




मौसम पूर्वानुमान अनुसार आगामी दिनमा ताप्लेजुङका उच्च भूभागमा थप हिमपात हुने सम्भावना छ। पर्यटकलाई सुरक्षित यात्रा गर्न र मौसम अनुसार तयारी गर्न स्थानीय अधिकारीहरूले अनुरोध गरेका छन्।

पाथीभरा मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक हो। समुद्र सतहदेखि ३,७९४ मिटरको उचाइमा रहेको यस मन्दिर धार्मिक विश्वास मात्र नभई प्राकृतिक सौन्दर्यका कारण पनि अत्यन्त लोकप्रिय छ। हिमपातपछि यहाँको दृश्यावलीले सबैको मन लोभ्याउने गरेको छ।

