काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, फोटो पत्रकार, कलाकार, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कला र फोटोग्राफीमा प्रतिलिपि अधिकारबारे चेतना अभाव र कानुनी स्पष्टताका कारण सिर्जनात्मक क्षेत्रका व्यक्तिहरूले जटिलता भोग्नुपरेको बताए। उहाँले विद्यमान समस्याहरूलाई सम्बोधन गर्न सरोकारवालाहरूले गहन अध्ययन गरी प्रतिलिपि अधिकार ऐनमा आवश्यक संशोधनको पहल गर्नुपर्ने धारणा राख्नुभयो।



प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिलिपि अधिकार ऐनमा कला, फोटोग्राफीलगायतका विषयलाई पर्याप्त रूपमा समेटिएको नभएको भन्दै यस विषयमा संस्थागत पहल जरुरी रहेको बताए। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरूले अब आफ्नो अधिकारका विषयमा आवाज उठाउन आवश्यक रहेकोमा जोड दिँदै सर्जकहरूले फोटो पत्रकारितालाई प्रतिलिपि अधिकारको सन्दर्भमा फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने बताए।

नेपाल पत्रकार महासङ्घ, एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्यले जटिल विषयमा छलफल गरेर मात्र नभई संसदीय समिति र सम्बन्धित मन्त्रीसँग प्रत्यक्ष संवाद आवश्यक रहेको बताए।

सुझाव संकलनका लागि आग्रह
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका प्रतिनिधि शालिकराम खतिवडाले प्रतिलिपि अधिकार ऐन निर्माण प्रक्रियामा रहेको जानकारी दिँदै सरोकारवालाहरूलाई लिखित तथा मौखिक सुझाव दिन आग्रह गरे।
कार्यक्रमका सभाध्यक्ष सौरगंगा दर्शनधारीले प्रतिलिपि अधिकारको महत्वबारे विद्यालयस्तरदेखि नै सचेतना अभियान चलाउनुपर्ने औंल्याउँदै गहन छलफलका आधारमा ठोस निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।
कार्यक्रमको सहजीकरण केशवराज खनालले गरेका थिए।
यो कार्यक्रमले कला र फोटोग्राफीजस्तो सिर्जनात्मक क्षेत्रमा प्रतिलिपि अधिकारको महत्वलाई उजागर गरेको छ। सिर्जनात्मक व्यक्तिहरूको अधिकार संरक्षण तथा कानुनी स्पष्टता आवश्यक रहेको वर्तमान सन्दर्भमा, यस्तो छलफलले कानुनी सुधार र सचेतना अभिवृद्धिका लागि आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

