Aamsanchar

साधुटारमा भविष्यकात्मक अतिरुद्र महायज्ञको भव्य शुभारम्भ

Author Image
सोमवार, पौष २९, २०८१

चारपाने । झापा अर्जुनधारा १ को शंकराचार्य पीठ साधुटारमा २९ पौषदेखि सुरु भएको भविष्यकात्मक अतिरुद्र महायागले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ। यो महायाग पूर्व क्षेत्रमा पहिलो पटक यति विशाल स्तरमा आयोजना गरिएको हो।

भारतको दिल्लीस्थित केन्द्रीय संस्कृति विश्वविद्यालयका प्राध्यापक डा. काशीनाथ न्यौपानेले महायागको शुभारम्भ गर्नुभएको छ। शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि डा. न्यौपानेले यज्ञको महत्वबारे चर्चा गर्दै यसको सांस्कृतिक योगदानलाई विशेष रूपमा उल्लेख गर्नुभयो।

महायाग १५१ आचार्यहरूको नेतृत्वमा ११ दिनसम्म सञ्चालन हुने छ। यसमा डा. गुरुप्रसाद सुवेदी प्रमुख यज्ञाचार्य रहनुभएको छ भने भारतको बनारसका हाकिम प्रसाद भण्डारी र डिल्लीराम रिजाल सहयाज्ञाचार्यका रूपमा सहभागी हुनुहुन्छ।

नेपाल र भारतका साधुसन्त, विद्वान, तथा धार्मिक अगुवाहरूको सहभागितामा महायागको उद्घाटन सत्र सम्पन्न भएको हो। कलश शोभायात्राको माध्यमबाट सुरु गरिएको यस अनुष्ठानमा कन्काई नदीबाट साधुटारसम्म कलश यात्रा आयोजना गरिएको थियो। सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधिहरूले सो यात्रामा सहभागिता जनाएका थिए।

महायाग शंकराचार्य पीठको ४९औँ स्थापना दिवससँग मेल खाएर गरिएको हो। उद्घाटन अघि ४९ वटा दिप प्रज्वलन गरिनुका साथै यो पिठमा सञ्चालन भइरहेको वेदवेदाङ्ग पाठशाला, गौशाला, र मठमन्दिरले यस स्थललाई झापाको प्रमुख धार्मिक गन्तव्यस्थलका रूपमा स्थापित गरेको छ।

यो दुर्लभ अनुष्ठानले धार्मिक, सांस्कृतिक, र सामाजिक सद्भावको सन्देश फैलाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर